image
image

आजदेखि गैँडा गणना सुरु , ४० वटा हात्ती र २०० जनशक्ति परिचालन 

चितवन । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन् । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, वन मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागका महानिर्देशक दीपक खराल, वन विभागका महानिर्देशक मनबहादुर खड्का, वन मन्त्रालयका महाशाखा प्रमुख, विभिन्न दातृ निकायका प्रमुखको सहभागिता रहेको थियो । गणना शुरु भएसँगै सौराहामा औपचारिक उद्घाटन कार्यक्रम गरिँदै छ ।   
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गणनामा ४० वटा हात्ती र २०० जनशक्ति परिचालन गरिएको छ । दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएका छन् । कोशीमा दरबन्दी रहेर यहाँ रहेका हात्ती र मध्यवर्ती क्षेत्रमा केही निजी हात्तीलाई पनि गणनामा प्रयोग गरिने छ । बरालका अनुसार ४० मुख्य गणक र वैकल्पिक २० लाई गणनामा खटाइँदै छ । यसका अतिरिक्त हात्तीको दरबन्दीमा रहेका कर्मचारी खटिएका छन् । त्यस्तै दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तिमा पनि २० दिन लाग्ने बताईएको छ ।  
 
गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुु संरक्षण विभागको नेतृत्वमा भएको हो । विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गैँडा रहेका अन्य दुई निकुञ्ज बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु गरिँदै छ । सरकारले यस वर्ष गैँडा गणनाका लागि रु ८० लाख विनियोजन गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्व वन्यजन्तुु कोष (डब्लुडब्लुएफ) नेपाल र जेडएसएल नेपाललगायतका सङ्घ संस्थाको सहयोगमा गैँडा गणना शुरु गरिएको हो । 
 
हरेक पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गन्नेछन् । गणनाका लागि हात्ती, दूरबिन,  क्यामेरालगायतको सामग्री प्रयोग गरिन्छ । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको थियो । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लो पटक सन् २०१५ को गणनामा  नेपालमा कूल ६४५ गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।