image
image

शुरु नै नभएको भवन निर्माण सम्पन्न भनी कागजात तयार


काठमाडौं । एक निर्माण व्यवसायीले निर्माण नै नभएको एक अस्पतालको बहुतले भवन निर्माण सम्पन्न भएको भनेर कागजात तयार पारेको फेला परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार भ्याली कन्स्ट्रक्सन प्रालीले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी निर्माण कार्य नै नभएको अस्पतालको भवन निर्माण सम्पन्न भएको भनेर कैफियत गरेको पाइएको हो । यसरी कीर्तेमा संलग्न सो संस्थाका सञ्चालक ललितपुरका रविन्द्र महर्जन रहेका छन् ।

ब्युरोका प्रमुख सहकुलबहादुर थापाले भने, “कीर्ते कागजात तयार पारी रौतहटको चपुरस्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन, विसं २०७१ भदौ २४ मा निर्माण शुरु गरी रु ४३ करोड ३७ लाख ५५ हजारमा सम्पन्न भएको प्रमाणित गरिन्छ भनेर उल्लेख गरेको देखियो ।” उनका अनुसार महर्जनले ठेक्का लिने तर काम नगर्ने साथै गरेको ठाउँमा समेत कीर्ते कागजात बनाउने गरेको पाइएको छ ।

यो त एउटा उदाहरण हो । उनले यसरी विभिन्न ३४ ठाउँमा कीर्ते कागतजात तयार पारेको फेला परेको छ । केही काम निर्माणको चरणमा रहेको र केही सम्पन्न भएका क्षेत्रमा समेत कीर्ते गरेको पाइएको ब्युरोका उपनिर्देशक गङ्गा पन्तले जानकारी दिइन् ।

उनका अनुसार उनका बारेमा धेरै अनुसन्धान गर्न बाँकी नै छ । तर उनले गरेका काममा भने कीर्ते कागजात तयार पारेको फेला परेको पन्तले बताइन् । उनलाई कीर्ते लिखत कसुरमा अनुसन्धान जारी छ ।

महर्जनले बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको योजना अधिकृत गङ्गाकुमारी गुरुङ र शाखा अधिकृत दीर्घकुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न छ वटा पत्रसमेत कीर्ते गरेको अनुसन्धानमा खुलेको उनले जानकारी दिइन् ।

यस्तै विभिन्न मिति र समयमा सरकारी निकायद्वारा आह्वान गरिएका बोलपत्रमा भाग लिने क्रममा कीर्ते गरी तयार गरिएका बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अनुभवको प्रमाणितपत्रसमेत तयार पारेका पाइएको छ ।

उनको साथबाट विभिन्न कम्पनीका लेटरप्याड, समितिको छाप र लेटरप्याड, गुम्बा समिति र संस्थाबीचको सहमतिपत्र, समितिकोे थप रकम निकासासम्बन्धी लेखिएको चिठी, रकमसमेत उल्लेख भएको २३ थान बैंकको चेकसमेत प्रहरीले बरामद गरेको छ । भ्याली कन्स्ट्रक्सन प्रालीका संस्थापक नुच्छे महर्जनबाट उनले २०६४ सालमा उक्त कम्पनी खरीद गरी निर्माण व्यवसाय शुरु गरेका हुन् । उक्त कम्पनीले विभिन्न क्षेत्रमा स्कुलका भवन निर्माण गरेको भए पनि ठाउँठाउँमा कीर्ते लिखत फेला परेकाले ब्युरोले अनुसन्धानको दायरा फराकिलो पारेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।