‘ए मेरो हजुर ४’ ले ३ दिनमै गर्यो साढे २ करोडको व्यापार
काठमाडौँ, ४, वैशाख । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ४’ले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको छ ।
झरना थापा निर्देशित चलचित्र नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको थियो । प्रदर्शनको पहिलो दिन ८८ लाखको व्यापार गरेको चलचित्रले तीन दिनमा २ करोड ४३ लाखको व्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिए ।
बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘केजीएफः च्याप्टर २’सँग एउटै मितिमा प्रदर्शनमा आए पनि ‘ए मेरो हजुर ४’ले उत्साहजनक व्यापार गरिरहेको वितरक शाहीले बताए ।
चौथो दिनसम्म चलचित्रको व्यापार तीन करोड पार हुने अनुमान निर्माण पक्षको छ । चलचित्रमा अनमोल र सुहानाका साथमा सलोन बस्नेतको समेत मुख्य भूमिका छ । ‘ए मेरो हजुर’का यसअघिका तीनवटै श्रृंखला हिट मानिन्छन् ।