image
image

किसान क्रेडिट कार्डमा बैंकहरूको आकर्षण

काठमाडौँ १० फागुन - व्यावसायिक कृषकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यसहित बैंकहरुले किसान क्रेडिट कार्ड जारी गर्न थालेका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषकलाई वित्तीय साधनको साथै कृषि सूचना तथा जानकारी उपलब्ध गराउन कृषि विकास बैंकमार्फत ‘किसान क्रेडिट कार्ड’ को व्यवस्था गरिने घोषणा गरेको थियो । उक्त प्रावधानअनुसार कृषि विकास बैंकका साथै अन्य बाणिज्य बैंकहरुले पनि यस्तै प्रकृतिको सेवा सञ्चालन गर्न थालेका छन् । हालसम्म मेगा र सिभिल बैंकले व्यावसायिक किसानलाई लक्षित गरी क्रेडिट कार्ड सेवा सुरु गरिसकेका छन् ।

कृषि विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर माघ पहिलो सातादेखि औपचारिक रुपमा किसान क्रेडिट कार्ड सुरु गरेको थियो । बैंकबाट कृषि कर्जा लिएका व्यावसायिक किसाननलाई वित्तीय सेवाका अतिरिक्त बजारका सूचनासमेत प्रदान गर्ने गरी सेवा सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले जानकारी दिए । “किसान क्रेडिट कार्ड वित्तीय सेवा मात्र होइन,” उनले भने, “यसमार्फत किसानले बजार मूल्य, प्राविधिक सल्लाह सुझाव, मौसमसम्वन्धी जानकारी पनि प्राप्त गर्नसक्छन् ।” कृषि विकास बैंकले सेवा सुरु गर्नुअघि दुई वाणिज्य बैंकले पनि यस्तै प्रकृतिको सेवा सुरु गरिसकेका छन् ।
मेगा बैंकले साउनको पहिलो सातादेखि ‘मेगा किसान कार्ड’ सेवा सुरु गरेको थियो । मेगा बैंकले व्यावसायिक किसानहरुलाई प्राथमिकता दिँदै ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा बजारमा ल्याएको छ । बैंकले कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका सेवा केन्द्रवाट खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

यसैगरी असोजदेखि सिभिल बैंकले किसान समृद्धि कार्ड सेवा सुरु गरेको छ । बैंकले कृषि पेसामा आवद्ध ग्राहकहरुले कृषिबाट हुने आम्दानी नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको अवस्थामा बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरेको छ ।

कृषि क्षेत्रमा वित्तीय पहुँच बढाउनका लागि राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा अनिवार्य रुपमा लगानी गर्नुपर्ने ऋणको सीमा वृद्धि गरेको छ । जसअनुसार बैंकहरूले २०८० असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

यहि प्रावधानका कारण पनि बैंकहरुले कृषिमा ऋण बढाउँदै लगेका छन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाले ३६ खर्ब ५८ अर्व रुपैयाँ ऋण प्रवाह गरेकोमा २ खर्ब ७१ अर्व रुपैयाँ कृषि क्षेत्रमा गएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको कृषिमा लगानी २० प्रतिशतले वृद्धि भएको छ ।

सरकारले पनि कृषकलाई वित्तीय पहुँच बढाउनकै लागि कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस कार्यक्रम अन्र्तगत ३३ हजार ८ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।