ओरेन्टलको मुद्दा फेरि सहकारी विभागमा
काठमाडौँ - सर्वसाधारणको बचत फिर्ता गर्न नसकेका कारण सरकारले समस्याग्रस्त घोषणा गरेको ओरेन्टल सहकारीको मुद्दा फेरि संघीय सहकारी विभागमा पुगेको छ । ओरेन्टलको सम्पति खोजबिन गरी दायित्व फरफारक गर्नका लागि सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको थियो । समितिले ओरेन्टलको सम्पत्ति लिलामी गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले नयाँ ऐनका आधारमा ओरेन्टल सहकारीलाई कारवाही गर्न नसक्ने फैसला गरेपछि काम रोकिएको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
समितिमा सहकारीका अध्यक्ष सुधिर बस्नेतले महालक्ष्मी नगरपालिका—२ स्थित निर्माणाधिन अपार्टमेन्ट पूरा गरी बचतकर्ताको रकम फिर्ता गर्ने योजना पेश गरेका थिए । योजनामा उनले सम्पतिको पुनर्मूल्यांकन गरी बुकिङकर्ताबाट थप रकम उठाउने योजना पेश गरेका थिए । तर, समितिले सर्वसाधारणलाई थप दायित्व सिर्जना गर्ने अनुमति दिन नसकिने भन्दै उनको योजना अस्वीकृत गरी लिलामीमा लैजाने निर्णय थियो । त्यसबिरुद्ध बस्नेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
अदालतको आदेशका कारण सम्पत्ति लिलामी गरी दायित्व फरफारक गर्न नपाएपछि समितिले फाइल विभागमा बुझाएको हो । समितिले ओरेन्टलको पुरानो ऋण असुल गरी २ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले ओरेन्टलको फाइल विभागमा आएको र यसबार अध्ययन भइरहेका जानकारी दिए । “समितिले ओरेन्टल सहकारीको प्रतिवेदन विभागमा बुझाएको छ,” उनले भने, “अब कसरी अघि बढ्ने भनेर विभागले अध्ययन गरिरहेको छ ।”









