image
image
भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान

भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्न प्राधिकरणद्वारा प्रस्ताव आह्वान

मंसिर १२। नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाममा विद्युत् आपूर्ति व्यवस्थापन सहज बनाउन भारतबाट थप १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै भारतका विद्युत् व्यापार कम्पनीहरूसँग प्रतिस्पर्धात्मक प्रक्रियामार्फत विद्युत् खरिदका लागि प्रस्ताव आह्वान गरेको हो।

प्राधिकरणका अनुसार सन् २०२७ को जनवरीदेखि मे महिनासम्म चौबिसै घण्टा अर्थात् राउन्ड द क्लक (आरटीसी) प्रणालीमार्फत विद्युत् खरिद गर्ने योजना छ। यसका लागि भारतमा विद्युत् व्यापारको अनुमति प्राप्त श्रेणी १, २ र ३ का कम्पनीहरूले प्रस्ताव पेस गर्न सक्नेछन्।

प्राधिकरणले प्रस्ताव पेस गर्ने अन्तिम मिति पुस १३ गते दिउँसो १२ बजेसम्म तोकेको छ। प्राप्त प्राविधिक प्रस्ताव सोही दिन दिउँसो १ बजे प्राधिकरणको केन्द्रीय कार्यालयमा खोलिनेछ। बोलपत्रमा सहभागी हुन इच्छुक कम्पनीले १२ हजार ५०० भारतीय रुपैयाँ वा सो बराबरको नेपाली रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि प्राधिकरणले तीन भारतीय कम्पनीसँग विद्युत् खरिदका लागि मूल्य प्रस्ताव माग गरेको थियो। जसमा एनटीपीसी ट्रेडिङ कर्पोरेसनले प्रतियुनिट ६.९० भारतीय रुपैयाँ, मणिकरण इनर्जीले ८.५० रुपैयाँ र एसजेभीएनले ९ रुपैयाँ प्रस्ताव गरेका थिए। सबैभन्दा कम मूल्य प्रस्ताव गरेको एनटीपीसीलाई प्राधिकरणले सम्झौताका लागि बोलाए पनि कम्पनीले पुरानै मूल्यमा विद्युत् उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि नयाँ प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाइएको हो।

एनटीपीसीले भारतमा कोइला तथा अन्य इन्धनको मूल्य वृद्धि, भूराजनीतिक अनिश्चितता, मौसम परिवर्तन र भारतभित्रै विद्युत्को माग बढेको कारण देखाउँदै पुरानो मूल्यमा विद्युत् बिक्री गर्न नसक्ने जनाएको थियो। यसैबीच भारतीय विद्युत् बजारमा पनि मूल्य बढ्दै गएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण नेपालका जलविद्युत् आयोजनाहरूको करिब ४३० मेगावाट उत्पादन क्षमता प्रभावित भएको छ। आगामी हिउँदमा नदीहरूमा पानीको बहाव घट्ने भएकाले आन्तरिक जलविद्युत् उत्पादनमा समेत कमी आउने अनुमान गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणले यसअघि नै भारतबाट ३५० मेगावाटसम्म विद्युत् आयात गर्न अनुमति प्राप्त गरिसकेको छ। आगामी सुक्खायाममा स्वदेशी उत्पादनले माग धान्न कठिन हुने देखिएपछि थप विद्युत् खरिदको तयारी गरिएको हो।

विद्युत् खरिद प्रक्रिया समयमै सम्पन्न भएमा हिउँदमा उद्योग, कलकारखाना, घरायसी उपभोक्ता तथा व्यापारिक प्रतिष्ठानलाई नियमित विद्युत् आपूर्ति गर्न सहज हुने प्राधिकरणको अपेक्षा छ। यद्यपि खरिद मूल्य र भारतीय बजारमा विद्युत्को उपलब्धताले अन्तिम सम्झौतामा प्रभाव पार्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।