पर्यटन बोर्डको सीईओ छनोट प्रक्रियाविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
मंसिर ११। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको कार्यकारी समिति तथा छनोट उपसमितिलाई सूचना प्राप्त भएको मितिले १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
सीईओ छनोटका लागि सार्वजनिक गरिएको १६ जनाको संक्षिप्त सूची कानुनविपरीत रहेको दाबी गर्दै पाँच जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
नेपाल पर्यटन बोर्ड ऐन, २०५३ अनुसार सीईओ बन्न कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था छ। निवेदकहरूले उम्मेदवारको शैक्षिक योग्यता र अनुभवको पर्याप्त परीक्षण नगरिएको दाबी गरेका छन्।
यसैबीच, निवेदकहरूले माग गरेको अन्तरिम आदेशबारे दुवै पक्षबीच छलफल गर्न सर्वोच्च अदालतले मंसिर १४ गतेका लागि पेसी तोकेको छ।









