कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा तीव्र, हिक्मतकुमार कार्कीमाथि राजीनामाको दबाब
मंसिर १०। कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने विषयले नेकपा एमालेभित्र राजनीतिक सरगर्मी बढाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दबाब दिएको चर्चा सार्वजनिक भएपछि प्रदेशको राजनीति थप तरंगित बनेको हो।
मुख्यमन्त्री कार्कीको विकल्पका रूपमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई अघि सारिएको चर्चा छ। तर मुख्यमन्त्री कार्कीले तत्काल पद छाड्ने संकेत दिएका छैनन्।
यसैबीच, सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले कार्कीलाई तत्काल राजीनामा नदिन र सरकारको निरन्तरता कायम राख्न सुझाव दिएका छन्।
अर्कोतर्फ, कोशी प्रदेशका तत्कालीन प्रदेश प्रमुख परशुराम खापुङको पाँचवर्षे कार्यकाल गत कात्तिक २३ गते समाप्त भएपछि प्रदेश प्रमुखको पद १५ दिनदेखि रिक्त छ। नयाँ प्रदेश प्रमुख नियुक्त नहुँदा मुख्यमन्त्रीको राजीनामा, नयाँ मुख्यमन्त्री नियुक्ति तथा शपथग्रहणजस्ता संवैधानिक प्रक्रिया प्रभावित हुने अवस्था बनेको छ।
यस घटनाक्रमले एमालेभित्रको आन्तरिक शक्ति संघर्ष र कोशी प्रदेशको सत्ता समीकरणलाई थप पेचिलो बनाएको छ।









