बालश्रमको उमेरहद १३ कि १५ वर्ष? विधेयकमा सरकार र सांसदबीच मतभेद
मंसिर १०। बालश्रम नियन्त्रणसम्बन्धी नयाँ विधेयकमा बालबालिकालाई श्रममा लगाउन सकिने न्यूनतम उमेरबारे सरकार र सांसदबीच मतभेद देखिएको छ।
सरकारले १३ वर्ष उमेर पूरा भएका बालबालिकालाई अभिभावकको सहमतिमा निश्चित सर्तसहित हलुका काम गर्न दिने प्रस्ताव गरेको छ। तर नेपाली कांग्रेसलगायतका सांसदहरूले १५ वर्षमुनिका बालबालिकालाई कुनै पनि प्रकारको श्रममा लगाउन नहुने व्यवस्था गर्न संशोधन प्रस्ताव दर्ता गरेका छन्।
प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास र मौलिक अधिकारलाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ।
सांसदहरूले बालश्रम अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै विपन्न परिवारलाई आर्थिक सहयोग, बालबालिकाको उद्धार, पुनर्स्थापना र विद्यालयमा पुनः भर्ना गराउने कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।
श्रममन्त्री रामजी यादवले नेपालमा करिब ११ लाख बालबालिका अझै बालश्रममा संलग्न रहेको उल्लेख गर्दै आर्थिक तथा सामाजिक अवस्थालाई ध्यानमा राखेर विधेयक ल्याइएको बताएका छन्।
विधेयकमाथि थप दफावार छलफल गरी आवश्यक संशोधन गर्ने तयारी छ।









