१० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य, नयाँ ऊर्जा नीति बन्दै
मंसिर १०। सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्, सौर्य, वायु तथा अन्य वैकल्पिक ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन लागेको हो।
नयाँ नीतिमा नदी प्रवाही, अर्धजलाशययुक्त, जलाशययुक्त, पम्प स्टोरेज, सौर्य र वायु ऊर्जालाई समेटिनेछ। यसले वर्षायाममा बढी र हिउँदमा कम हुने विद्युत् उत्पादनको असन्तुलन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता करिब ४ हजार २०० मेगावाट रहेको छ। सरकारले नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गरेपछि लामो समयदेखि प्रभावित विद्युत् खरिद सम्झौता अर्थात् पीपीए प्रक्रिया पुनः अघि बढाउने अपेक्षा गरेको छ।
प्राधिकरणका अनुसार १६ हजार ४२५ मेगावाटभन्दा बढी क्षमताका आयोजना पीपीएको प्रतीक्षामा छन्।









