पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु
मंसिर १०। पोखरामा ‘फेवा किङ्स कप–२०८३’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा बुधबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन दिन गण्डकी प्रदेश, नेपाल एपीएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेका छन्।
पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ। दोस्रो खेलमा नेपाल एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएको छ।
त्यस्तै, अन्तिम खेलमा आयोजक किङ्स क्लब पोखराले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको छ।
प्रतियोगितामा आयोजकसहित नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र गण्डकी प्रदेश गरी ६ टोली सहभागी छन्।
राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ, उपविजेताले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य राष्ट्रियस्तरमा पुरुष भलिबलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद प्रवर्द्धन गर्नु हो।









