एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, अब विश्वकप छनोटमा ध्यान
मंसिर १०। कतारमा आयोजित एसीसी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार राति स्वदेश फर्किएको छ।
प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो। जसमा एक खेलमा जित हासिल गर्दा दुई खेलमा पराजय बेहोरेको थियो।
नेपालले पहिलो खेलमा भारत ‘ए’ सँग ३०६ रनको ठूलो अन्तरले पराजय भोगेको थियो। दोस्रो खेलमा यूएईलाई ६ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको नेपाल अन्तिम खेलमा पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएको थियो। यससँगै नेपालको प्रतियोगिताबाट यात्रा समाप्त भएको थियो।
अब नेपाली टोलीको ध्यान आईसीसी एकदिवसीय विश्वकप छनोटको एसिया क्वालिफायर प्लेअफमा केन्द्रित हुनेछ। नेपालमै आयोजना हुने उक्त प्रतियोगिता डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुने तालिका छ।









