ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकललाई कारबाही
मंसिर ५। अत्यधिक आवाज निकाल्ने तथा परिमार्जित (मोडिफाइड) साइलेन्सर प्रयोग गरी ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। मोटरसाइकलबाट निस्कने चर्को आवाजले सर्वसाधारण, विद्यार्थी, ज्येष्ठ नागरिक तथा अस्पतालका बिरामीलाई समेत असर पार्ने भएकाले प्रहरीले ध्वनि प्रदूषण नियन्त्रण अभियानलाई तीव्रता दिएको हो। सवारीसाधनको साइलेन्सर मापदण्डअनुसार राख्न र अनावश्यक आवाज निकाल्ने गतिविधि नगर्न प्रहरीले चालकलाई आग्रह गरेको छ।
तराईको झापा जिल्लामा गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षसम्म १ हजार ६३ वटा सवारीसाधन कारबाहीमा परेका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार मेचीनगर, भद्रपुर, बिर्तामोड, दमक, बुद्धशान्ति र अर्जुनधारालगायत क्षेत्रमा निगरानी बढाइएको छ। प्रहरीले नियमविपरीत जडान गरिएका साइलेन्सर पाइपसमेत जफत गरेको छ। यस्तो कारबाहीको उद्देश्य सर्वसाधारणलाई चर्को आवाजबाट हुने असुविधा कम गर्नु र सडक अनुशासन कायम गर्नु रहेको छ।









