अस्ट्रेलियामा ६ दिनदेखि जंगलमा हराएका १७ वर्षीय किशोर जीवितै फेला
२७ कात्तिक। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा ६ दिनदेखि घना जंगलमा हराइरहेका १७ वर्षीय किशोर विलियम सकुशल फेला परेका छन्। नोभेम्बर ६ मा साथीका साथ क्याम्पिङ गर्न गएका उनी बाटो बिराएपछि जंगलमा हराएका थिए।
विलियम साथीहरूसँग क्याम्पिङ गरिरहेका बेला थप सामान लिन जाने क्रममा बाटो बिराएर सम्पर्कविहीन भएका थिए। उनीसँग मोबाइल फोन, पर्याप्त खाना र पानीसमेत थिएन। उनको खोजीका लागि प्रहरी, उद्धारकर्मी, कुकुर टोली र स्वयंसेवकसहित १०० भन्दा बढी व्यक्ति परिचालन गरिएको थियो।
लगातार ६ दिनको खोजीपछि नोभेम्बर १२ मा प्रहरीको हेलिकप्टरले जंगलमा उनको माछा मार्ने सामान राख्ने बाकस देखेपछि आसपासको क्षेत्रमा खोजी गरेको थियो। त्यसक्रममा खोल्सानजिकैको ढुंगामा रहेका विलियम फेला परेका थिए। हेलिकप्टर देखेपछि उनले हात उठाएर उद्धार टोलीलाई संकेत गरेका थिए। त्यसपछि उनलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको थियो।
लामो समय जंगलमा बिताएका विलियमको शरीर घामले डढेको र खुट्टामा केही चोटपटक लागेको छ। उनलाई थप स्वास्थ्य परीक्षण तथा निगरानीका लागि अस्पताल लगिएको छ। कठिन परिस्थितिका बाबजुद उनी जीवितै फेला पर्नुलाई उद्धार टोलीले ठूलो सफलता मानेको छ।
छोरासँग पुनर्मिलन भएपछि आमा एलिजाबेथ बार्कली निकै भावुक बनेकी थिइन्। उनले छोरालाई अब जीवनभर घरमै नजरबन्द राख्ने भन्दै ठट्टासमेत गरेकी छन्। छ दिनसम्म चलेको खोजीपछि किशोर सकुशल भेटिएसँगै परिवार र उद्धार टोलीले ठूलो राहत महसुस गरेका छन्।









