उद्घाटन भएको पाँच वर्ष बित्दा पनि प्रयोगविहीन भ्यु टावर
२७ कात्तिक। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय भ्यु टावर उद्घाटन भएको पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारणका लागि सञ्चालनमा आउन सकेको छैन। करिब ११ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको ११ तले टावर सञ्चालन नहुँदा अहिले पनि प्रयोगविहीन अवस्थामा रहेको छ।
तिलोत्तमा नगरपालिका–१ र २ मा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) परिसरमा निर्माण गरिएको उक्त टावरको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ चैत १ गते गरेका थिए। टावरबाट बुटवल, भैरहवा तथा आसपासका क्षेत्रको दृश्यावलोकन गराउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।
टावर सञ्चालनका लागि पटक–पटक बोलपत्र आह्वान गरिए पनि विभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन। पछिल्लो पटक बुटवलको द नेस्ट होटलले सञ्चालनको ठेक्का प्राप्त गरेको छ। तर आवश्यक मर्मतसम्भार, सडक निर्माण र अन्य पूर्वाधारको काम पूरा नहुँदा सम्बन्धित कम्पनीसँग सम्झौता हुन बाँकी रहेको छ।
तिलोत्तमा नगरपालिकाका अनुसार टावरभित्रका केही सिसा फुटेका छन् भने सञ्चालनका लागि आवश्यक अन्य कामसमेत पूरा गर्नुपर्नेछ। नगरपालिकाले केही साताभित्र मर्मत तथा पूर्वाधार निर्माण सम्पन्न गरी टावर सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ।
११ तले उक्त टावर सञ्चालनमा आएपछि वनवाटिकामा पर्यटकको आकर्षण बढ्ने र स्थानीय पर्यटन तथा रोजगारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।









