तिहारमा फूल बिक्रीका लागि काठमाडौँ महानगरले तोक्यो स्थान
कार्तिक १८। नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री–वितरणलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरपालिकाले तिहारलाई लक्षित गर्दै महानगरभित्र ३२ वटा बिक्री केन्द्र तोकेको छ। महानगरपालिकाले स्वदेशी फूलको उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ बानेश्वर, चाबहिल, तीनकुने, स्वयम्भू, कलङ्की, माछापोखरी, महाराजगञ्ज, सुन्धारा, पुतलीसडक लगायतका विभिन्न स्थानमा बिक्री केन्द्रको व्यवस्था गरेको हो। महानगरले प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्रीको बिक्रीमा प्रतिबन्ध लगाउँदै नेपाली किसानले उत्पादन गरेका प्राकृतिक फूलमालालाई प्राथमिकता दिन आग्रह गरेको छ। तोकिएका स्थानमा फूल बिक्री गर्न किसान तथा व्यवसायीलाई सहजीकरण गरिने र प्रतिबन्धित सामग्री बिक्री गरेको पाइएमा जफत गरिने महानगरले जनाएको छ। यस अभियानबाट स्थानीय किसानले आफ्नो उत्पादनको उचित बजार र मूल्य पाउने तथा स्वदेशी कृषि उत्पादनको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।









