सोलुखुम्बुमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किए, एक विदेशी नागरिकको मृत्यु, एक घाइते
कार्तिक १८। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा आज बिहान दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएर दुर्घटना भएका छन्। फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर अवतरण गर्ने क्रममा बिहान करिब ८ बजेर ११ मिनेटमा एकअर्कासँग ठोक्किएका हुन्। दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक यात्रु घाइते भएका छन्। घाइतेलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि लुक्ला लगिएको थियो। केही समाचार स्रोतले घाइतेलाई काठमाडौं ल्याइएको जनाएका छन्। दुवै हेलिकोप्टरका पाइलट सुरक्षित रहेको प्रारम्भिक विवरण छ। दुर्घटनामा मृत्यु भएका विदेशी नागरिकको पहिचान खुल्न सकेको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरण र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेका छन्।









