image
image

बनाउँदै गर्दा भत्केको पुलका इन्जिनियर भन्छन्- दशा लागेर दुर्घटना भयो

काठमाडौँ। २०७४ कार्तिकमा बनाइसक्ने लक्ष्यका साथ २०७१ मा शिलान्यास गरिएको ठिमुरा–देवघाट जोड्ने पुलको निर्माण ढिलै भए पनि सकिँदै थियो। यसै आर्थिक वर्षभित्र पुल बनाइसक्ने योजनाका साथ द्रुत गतिमा काम भइरहेको थियो। चैत २४ गते बनाउँदा-बनाउँदैको पुल गर्ल्यामगुर्लुम्मै ढल्यो।


पुल भत्किएको घटनालाई लिएर विभिन्न खालको प्रतिकृया आइरहेका छन्। मानिसहरूले निर्माण कम्पनीको लापरबाहीदेखि गुणस्तरहीन सामानको प्रयोगले पुल भत्किएको आशंका गरिरहेका छन्।  

उक्त पुल बनाउन झन्डै दुई वर्षदेखि खटिरहेका भरतपुरस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर विजय दराई भने दशा लागेर दुर्घटना भएको बताउँछन्।


उनले पुल निर्माणमा निर्माण कम्पनीको कुनै लापरबाही आफूले नदेखेको दाबी गरेका छन्।

चितवनको ठिमुरालाई तनहुँको देवघाटमा जोड्ने उक्त पुल त्रिशुली माथि बन्दै  गरेको थियो। देशकै प्रमुख धार्मिकस्थल देवघाटलाई चितवनसँग जोड्ने यो पहिलो पक्की पुल बन्न लागेको थियो। 

निर्माण कार्यमा ढिलाइ हुँदै आएको पुल निर्माणको अन्तिम समयमा आएर भत्किँदा सरकारी लगानीमा बन्दै गरेका पूर्वाधारको गुणस्तरमा प्रश्न उठ्न थालेको छ। पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले निर्माणकै क्रममा भत्किँदा प्राविधिक र सामानको गुणस्तरमा प्रश्न उठेको बताए छन् ।



पुल भत्किएको विषयमा सडक विभागले सहसचिव कैलाश श्रेष्ठको नेतृत्वमा छानबिन समिति बनाएको छ। 

इन्जिनियर दराईले समितिले छानबिन गरेपछि मात्रै कारण पत्ता लाग्ने बताएका हुन्। ‘हामीले निर्माणाधीन पुल कमजोर अवस्थामा हुने हुँदा भूकम्पको धक्काको कारण भत्किएको हो कि भन्ने अनुमान गरेका छौं,’ उनले भने, ‘खास कुरो के हो भन्ने जानकारी त समितिबाटै आउला।’

दराईकाअनुसार ८.५ मिटर चौडाइ र २२० मिटर लम्बाइको उक्त पुलमा तीन वटा ‘स्पान’मध्ये दोस्रो स्पानमा तार जोडेर ‘प्रिस्टेसिङ’को काम अघि बढ्दै थियो। सँगै पुलको मुख्य भागमा स्टिलको ट्रस्ट संरचना बन्दै थियो।

उनले यसलाई काम गर्दै जाँदा भएको दुर्घटना मान्नु पर्ने बताएका छन्।

प्राविधिकका अनुसार पुलको ढलान सुक्न सामान्यत: २८ दिन लाग्छ। २१ दिनको अवधिमा ढलान ९० प्रतिशत काम गर्न सक्ने अवस्थामा हुन्छ। २८ दिनपछि ढलानको सपोर्टका लागि राखिएका ‘स्काफोल्डिङ’हरू निकालिन्छ। यो पुल स्काफोल्डिङ निकाल्न नपाउँदै ढलेको छ।

इन्जिनियर उपाध्यायले नेपालमा प्रिस्टेचिङ गरी पुल बनाउन थालेको धेरै समय नभएका कारण प्राविधिकहरू पनि सिकाईकै क्रममा रहेको बताए।

‘यो घटनाले सिकाइ पुगेको रहेनछ, थप तालिम, अध्ययनको आवश्यकता छ भन्ने पनि देखायो,’ उनले भने, ‘आगामी दिनमा यसप्रति सजग हुन भने घटनाले सिकाएको छ।’

उनले यो पद्दतिको सुरुवात गर्दा विकसित देशहरूमा पनि यस्ता घटना हुने गरेको बताए । निर्माणाधीन पुल भत्किएपछि निर्माणकर्ताले बाँकी काम आफ्नै खर्चमा गर्ने बताएको इन्जिनियर दराईले बताए।

‘दुई महिनामा सक्ने तयारी गरिएको काम सक्न अब एक वर्ष लाग्ने भयो,’ दराईले भने, ‘तर यसको थप बोझ सरकारलाई दिनुहुन्न भन्नेमा निर्माणकर्ताले प्रतिवद्धता जनाएका छन्। अनुसन्धान सकिएलगत्तै काम अघि बढ्छ।’

२०७१ सालमा १६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको पुलको डिजाइन परिमार्जन गरी २१ करोड ६८ लाख रुपैयाँ पुर्‍याइएको थियो। डिजाइन परिमार्जन गर्न १८ महिना, भूकम्प र नाकाबन्दीका कारण करिब एक वर्ष काम प्रभावित भएपछि दुई पटकसम्म पुल निर्माणको म्याद थप गरिएको थियो। गत पुस १३ गते सकिएको पछिल्लो म्याद कोरोना भाइरसको महामारी फैलिएपछि फेरि थपिएको थियो।  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।