स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश
मंसिर १० — उत्तर कोरियाले स्विट्जरल्यान्डको कूटनीतिक कार्यालयका प्रमुख सिल्भेन अस्तियरलाई ४८ घण्टाभित्र देश छाड्न आदेश दिएको छ। साथै, प्योङयाङस्थित स्विस कूटनीतिक कार्यालय बन्द गर्न पनि उत्तर कोरियाले माग गरेको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएका अनुसार विदेश मन्त्रालयले स्विस कूटनीतिक अधिकारी अस्तियरलाई बोलाएर उनलाई ‘अवाञ्छित व्यक्ति’ अर्थात् Persona Non Grata घोषणा गरेको हो।
यो कदम स्विट्जरल्यान्डले उत्तर कोरियाको सोङ्दोवन अन्तर्राष्ट्रिय बाल शिविरलाई आफ्नो प्रतिबन्ध सूचीमा राखेपछि आएको हो। उक्त शिविरले रुसको कब्जामा रहेका युक्रेनी क्षेत्रबाट बालबालिका उत्तर कोरिया ल्याउने कार्यमा संलग्न रहेको आरोप स्विस पक्षले लगाएको छ।
उत्तर कोरियाले भने स्विट्जरल्यान्डको यो निर्णयलाई आफ्नो देशविरुद्धको खुला शत्रुतापूर्ण कदम भन्दै विरोध जनाएको छ।
यसअघि उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले स्विस कूटनीतिक कार्यालय बन्द गर्ने चेतावनी दिएकी थिइन्। त्यसको एक दिनपछि उत्तर कोरियाले कूटनीतिक अधिकारीलाई देश छाड्न आदेश दिएको हो।
स्विट्जरल्यान्डले गत महिना प्योङयाङमा आफ्नो कूटनीतिक कार्यालय पुनः सञ्चालन गरेको थियो। स्विस विदेशमन्त्री इग्नाजियो कासिसले पनि अक्टोबरमा उत्तर कोरियाको भ्रमण गरेका थिए।









