आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटको सुनुवाइ न्यायाधीश बागचन्दको इजलासमा
मंसिर १० — लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
उक्त रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासमा तोकिएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनील सिंहसहितका निवेदकले आनी छोइङ डोल्माको नियुक्ति कानुनी प्रक्रिया र सार्वजनिक पदाधिकारीको नियुक्तिसम्बन्धी मापदण्डविपरीत भएको दाबी गर्दै रिट दायर गरेका हुन्।
निवेदकहरूले उनको नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय विचाराधीन रहेको अवस्थामा नियुक्ति गरिएको भन्दै नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाएका छन्।
रिटमा नियुक्ति बदर गर्न र मुद्दाको अन्तिम टुंगो नलागेसम्म उपाध्यक्षको हैसियतमा काम गर्न रोक लगाउन अन्तरिम आदेश माग गरिएको छ।
सरकारले गत असोज ३० गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। उनले मंसिर २ गते पदभार ग्रहण गरेकी थिइन्।









