दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ
मंसिर १० — नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः आईजीपी पदमा बहाली गर्न माग गरेका छन्।
आजको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको छ।
यसअघि सोमबार सुनुवाइका लागि पेसी तोकिए पनि नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीलाई अदालतको म्याद बुझाइएको प्रमाण नपुगेपछि सुनुवाइ स्थगित भएको थियो। अदालतले म्याद बुझाउने प्रक्रिया पूरा गरी बुधबारका लागि पुनः पेसी तोकेको थियो।
यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गर्दै कार्कीलाई पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपिसहित सम्बन्धित कागजात पेस गर्न आदेश दिएको थियो।
कार्कीले आफूलाई पदबाट हटाउनुअघि स्पष्टीकरणको अवसरसमेत नदिइएको र प्रहरी नियमावली तथा कानुनी व्यवस्थाविपरीत निर्णय गरिएको जिकिर गरेका छन्। उनले रिटको अन्तिम फैसला नहुँदासम्म सरकारको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेशसमेत माग गरेका छन्।
आजको सुनुवाइमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय गर्न सक्नेछ।









