लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान आजदेखि सुरु
मंसिर १० — महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्ने उद्देश्यसहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि नेपालसहित विश्वभर सुरु भएको छ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियान अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसबाट सुरु भई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन समापन हुन्छ। यस वर्षको अभियानको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ रहेको छ।
नेपालले यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारा तय गरेको छ।
अभियानका क्रममा घरेलु हिंसा, यौन दुर्व्यवहार, बालविवाह, दाइजो प्रथा, छाउपडी, मानव बेचबिखन तथा अनलाइनमार्फत हुने हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।
यसैबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले हिंसापीडितले न्यायका लागि वर्षौँसम्म सरकारी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएकी छन्। दोषीको राजनीतिक पहुँच, आर्थिक अवस्था वा सामाजिक प्रतिष्ठाका आधारमा कानुन फरक हुन नहुने उनको जोड छ।
सरकारले पीडितको सुरक्षा, मनोसामाजिक परामर्श, सुरक्षित आवास, पुनर्स्थापना र आर्थिक सशक्तीकरणमा जोड दिएको जनाएको छ।
अभियानले हिंसाविरुद्ध आवाज उठाउन, पीडितलाई सहयोग गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकार, नागरिक समाज, सञ्चारमाध्यम तथा आम नागरिकलाई आह्वान गरेको छ।









