बाढी–पहिरोको जोखिम अझै पूर्ण रूपमा हटेको छैन, म्याग्दीमा ५५० परिवार प्रभावित
असोज १९। लगातारको वर्षापछि आएको बाढी र पहिरोले म्याग्दी जिल्लामा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म जिल्लाका करिब ५५० परिवार प्रभावित भएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षापछि बाढी र पहिरोले घर, सडक, खानेपानी, विद्यालय तथा अन्य पूर्वाधारमा क्षति पुर्याएको हो।
प्रशासनका अनुसार म्याग्दीमा १११ घर पूर्ण रूपमा क्षतिग्रस्त, ९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर उच्च जोखिममा रहेका छन्। अन्नपूर्ण गाउँपालिका सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये परेको छ। त्यहाँ ४५ घर पूर्ण रूपमा क्षतिग्रस्त, १२ घरमा आंशिक क्षति र १८३ घर जोखिममा रहेको विवरण छ।
बाढी–पहिरोका कारण ५६ वटा गोठमा क्षति पुग्दा २० पशुचौपाया मरेका छन्। अन्नपूर्ण गाउँपालिकाका गिवाङ, पाउद्वार, किन्दु र घिरवाङ क्षेत्रका ११५ जना पहिरो प्रभावितलाई उद्धार गरी शिख र घारमा बनाइएका अस्थायी शिविरमा राखिएको छ। सडक अवरुद्ध भएपछि प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ।
बाढी–पहिरोमा परी सात जनाको मृत्यु भएको तथा दुई जना अझै बेपत्ता रहेको प्रशासनले जनाएको छ। यसबाहेक सडक, खानेपानी, नदी नियन्त्रण, विद्यालय, सार्वजनिक भवन, पदमार्ग, सिँचाइ, कृषि तथा पशुपालन क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। पूर्ण विवरण संकलन भएपछि क्षतिको आँकडा अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
यसैबीच बाढी–पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा पनि यातायात प्रभावित भएको छ। बैंसरी र सुकेबगर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध रहेको पछिल्लो विवरणमा उल्लेख छ। त्यसैले प्रभावित जिल्लामा यात्रा गर्दा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आवश्यक देखिएको छ।









