बालेनले सार्वजनिक गरे आफ्नो चुनावी खर्च विवरण, कति भयो होला खर्च ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) नेता बालेन्द्र साह (बालेन) ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै कुल करिब १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्। रास्वपाबाट उम्मेद्वारी दिएर चुनावी मैदानमा उत्रिएका शाहले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार घरदैलो अभियान, प्रचार–प्रसार, सवारीसाधन भाडा तथा कार्यालय सञ्चालनलगायत शीर्षकमा उक्त रकम खर्च भएको उल्लेख गरिएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार चुनावी अभियानका क्रममा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सञ्चालन गर्न मात्रै करिब ५ लाख ८० हजार रुपैयाँ खर्च भएको देखिन्छ। निर्वाचन अवधिभर मतदातासँग प्रत्यक्ष भेटघाट गर्न विभिन्न स्थानमा पुगेका शाहको टोलीले घरदैलो अभियानलाई मुख्य रणनीतिका रूपमा अघि बढाएको थियो।
त्यस्तै गाडी भाडा तथा इन्धन खर्चमा करिब २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। चुनावी प्रचारका क्रममा काठमाडौंका विभिन्न स्थानमा पुग्न सवारी साधन प्रयोग गर्नुपरेको हुँदा यो खर्च भएको जनाइएको छ।
चुनावी प्रचारका लागि प्रयोग गरिएका पोस्टर, ब्यानर, पम्प्लेट तथा अन्य प्रचार सामग्रीमा करिब १ लाख ५७ हजार रुपैयाँ खर्च भएको बताइएको छ। त्यसैगरी अभियान सञ्चालनका क्रममा आवश्यक पर्ने कार्यालय व्यवस्थापन, पानी तथा अन्य सामान्य खर्चमा करिब १ लाख २० हजार रुपैयाँ खर्च भएको देखिन्छ।
विवरणअनुसार हवाई यात्रामा करिब ३५ हजार रुपैयाँ खर्च भएको छ भने उम्मेदवारी दर्ता शुल्कका रूपमा १० हजार रुपैयाँ बुझाइएको पनि उल्लेख गरिएको छ। यी सबै शीर्षक जोड्दा शाहको कुल चुनावी खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ पुगेको विवरणमा उल्लेख गरिएको छ।
नेपालमा चुनावी खर्चको पारदर्शिता सुनिश्चित गर्न उम्मेदवारहरूले निर्वाचनपछि आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार शाहले पनि आफ्नो खर्च विवरण सार्वजनिक गरेका हुन्।
निर्वाचन आयोगले उक्त निर्वाचनमा उम्मेदवारहरूले अधिकतम करिब ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको थियो। तर शाहले सार्वजनिक गरेको विवरणअनुसार उनले तोकिएको सीमा भन्दा निकै कम रकम खर्च भएको देखिएको छ।
कम खर्चमा चुनाव जितेको उदाहरणका रूपमा धेरैले शाहको चुनावी अभियानलाई चर्चा गर्ने गरेका छन्। सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक बहसमा पनि कम बजेटमा प्रभावकारी प्रचार–प्रसार सम्भव भएको उदाहरणका रूपमा यसलाई उल्लेख गरिँदै आएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार परम्परागत राजनीतिक दलहरूभन्दा फरक शैलीमा गरिएको प्रचार, सामाजिक सञ्जालको व्यापक प्रयोग, युवा स्वयंसेवकहरूको सक्रियता तथा प्रत्यक्ष जनसम्पर्कले शाहको चुनावी अभियानलाई प्रभावकारी बनाएको थियो। यही कारणले पनि ठूलो आर्थिक खर्च बिना पनि मतदातामाझ प्रभाव पार्न सफल भएको टिप्पणी गरिन्छ।
चुनावी खर्च सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसबारे विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले यसलाई पारदर्शिताको सकारात्मक उदाहरणका रूपमा लिएका छन् भने केहीले चुनावी खर्चको वास्तविकता र विवरणबारे थप बहस हुनुपर्ने धारणा पनि राखिरहेका छन्।









