भारतमा गत २४ घण्टामा एक महिनायतकै कम संक्रमित
काठमाडौँ, २४, माघ । भारतमा कोरोना संक्रमणदर निरन्तर ओरालो लागिरहेको छ । नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि संक्रमणदर बढिरहेको भारतमा केही दिनयता भने दैनिक संक्रमितको संख्या घटिरहेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा गत एक महिनापछिकै कम संक्रमित भेटिएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना संक्रमित भेटिएका हुन् ।
सोही अवधिमा भारतमा १ लाख ९९ हजार ५४ जना संक्रमणमुक्त भएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ११ लाख आठ हजार ९३८ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८९५ जना संक्रमितको मृत्यु भएको छ ।









