भुटानमा हिमताल फुटेर भीषण बाढी, प्रसिद्ध गासा त्शाचु तातोपानी कुण्ड बगायो
कात्तिक १४ — छिमेकी मुलुक भुटानको गासा जिल्लामा बिहीबार राति सिन्ताफु हिमतालबाट अचानक ठूलो मात्रामा पानी बाहिरिएपछि भीषण बाढी आएको छ। बाढीको तीव्र बहावले गासा जिल्लाको प्रसिद्ध प्राकृतिक तातोपानी कुण्ड ‘गासा त्शाचु’ क्षेत्रका संरचनाहरू बगाएको छ। यस घटनाले भुटानको पर्यटकीय तथा पूर्वाधार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण पुनाखा–गासा राजमार्गको जोमलिङथाङ क्षेत्रको एक भागमा गेग्रान थुप्रिएर सडक अवरुद्ध भएको छ। त्यस्तै, लाया क्षेत्र जोड्ने सडकको केही भागसमेत बगाएपछि उक्त क्षेत्रको सडक सम्पर्क विच्छेद भएको छ। बाढीले पुनाखाको सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्याएको छ।
घटनापछि भुटानी अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा रहेका सुरक्षाकर्मी, कर्मचारी तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेका थिए। गासा त्शाचुमा रहेका कर्मचारी र पर्यटकलाई पनि बाढी आउनुअघि नै सुरक्षित स्थानमा सारिएकाले अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
सिन्ताफु हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो। यसको पानी मो छू नदी हुँदै पुनाखा र त्यसपछि भारततर्फ बग्ने नदी प्रणालीमा मिसिन्छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै भारतका पश्चिम बंगाल र आसामका नदी तटीय क्षेत्रमा समेत सतर्कता अपनाइएको छ।
रातिको समयमा बाढी आएकाले तालबाट निस्किएको पानीको वास्तविक मात्रा र भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ। अधिकारीहरूले नदीको जलस्तर निगरानी गर्दै प्रभावित क्षेत्रको अवस्था मूल्यांकन गरिरहेका छन्।









