image
image
प्रहरी महानिरीक्षक हटाउने चर्चाबीच प्रहरी उच्च अधिकारीको आकस्मिक बैठक

प्रहरी महानिरीक्षक हटाउने चर्चाबीच प्रहरी उच्च अधिकारीको आकस्मिक बैठक

कात्तिक १४ — नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन लागेको चर्चा सार्वजनिक भइरहेका बेला प्रहरी प्रधान कार्यालयमा उच्च प्रहरी अधिकारीहरूको आकस्मिक बैठक बसेको छ। बिहीबार दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म नक्सालस्थित प्रहरी मुख्यालयमा बसेको बैठकमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी नायब महानिरीक्षक (डीआईजी) तथा त्यसभन्दा माथिल्लो तहका अधिकारीहरू सहभागी भएका थिए।

प्रहरी महानिरीक्षक कार्कीले बोलाएको पुलिस पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी) को बैठकमा मुलुकको पछिल्लो शान्ति सुरक्षा अवस्था, प्रहरी संगठनको आन्तरिक व्यवस्थापन, सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका विषय तथा प्रहरी संगठनको प्रतिष्ठाबारे विस्तृत छलफल भएको थियो।

सरकारले आईजीपी कार्कीलाई राजीनामा दिन दबाब दिएको वा पदमुक्त गर्ने तयारी गरेको भन्ने समाचार सार्वजनिक भएपछि प्रहरी संगठनभित्र चर्चा चुलिएको थियो। बैठकमा केही अधिकारीले संगठनको छवि र व्यावसायिकतामाथि प्रश्न उठाउने गतिविधिको सामूहिक रूपमा प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए।

बैठकमा आईजीपी कार्कीलाई सरकारले राजीनामा मागेको हो कि होइन भन्ने प्रश्नसमेत गरिएको थियो। जवाफमा कार्कीले आफूलाई अहिलेसम्म कसैले राजीनामा दिन नभनेको र बाहिर सार्वजनिक भएका विवरण सत्य नभएको बताएका थिए।

बैठकपछि नेपाल प्रहरीले विज्ञप्ति जारी गर्दै सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध प्रयोग गर्न खोज्ने सीमित व्यक्तिहरूको गतिविधिबारे प्रचलित कानुनअनुसार अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउने जनाएको छ।

यसैबीच, निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप तथा केही उच्चपदस्थ व्यक्तिसँग सम्बन्धित अनुसन्धानका विषयले पनि प्रहरी नेतृत्व र सरकारी पक्षबीच असन्तुष्टि रहेको समाचार सार्वजनिक भएका छन्। निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणबारे संसदीय उपसमितिले समेत अध्ययन गरिरहेको छ।

यद्यपि, आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउने विषयमा सरकारले औपचारिक निर्णय गरेको पुष्टि भएको छैन। प्रहरी संगठनको नेतृत्वलाई लिएर उत्पन्न चर्चाबीच बसेको यो बैठकलाई सुरक्षा निकायभित्रको पछिल्लो महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।