रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढ्यो, दुई महिनामै भित्रियो ४ खर्ब ३६ अर्ब रुपैयाँ
असोज ३०। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपाल भित्रिने रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउन र भदौ महिनामा विदेशमा रहेका नेपालीले कुल ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स पठाएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो। यस वर्षको भदौ महिनामा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ नेपाल भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ आएको थियो। अमेरिकी डलरमा गणना गर्दा समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले बढेर २ अर्ब ८५ करोड अमेरिकी डलर पुगेको छ। रेमिट्यान्स नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो। यसले नेपाली परिवारको दैनिक खर्च, शिक्षा, स्वास्थ्य, बचत तथा देशको समग्र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। यद्यपि, रेमिट्यान्स बढिरहँदा वैदेशिक रोजगारीका लागि पहिलोपटक अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या भने अघिल्लो वर्षको तुलनामा घटेको छ। राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७८ हजार ३२० जनाले पहिलोपटक अन्तिम श्रम स्वीकृति लिएका छन्।









