image
image
चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकट सेवा सुरु, अब घरबाटै टिकट काट्न सकिने

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकट सेवा सुरु, अब घरबाटै टिकट काट्न सकिने

असोज ३०। चितवन राष्ट्रिय निकुञ्जले पर्यटकको सुविधालाई ध्यानमा राख्दै अनलाइन टिकट सेवा सुरु गरेको छ। झन्डै तीन वर्षदेखि तयारी भइरहेको ई–टिकटिङ प्रणाली बिहीबारदेखि परीक्षणका रूपमा सौराहा प्रवेश बिन्दुबाट सञ्चालनमा ल्याइएको हो। नयाँ व्यवस्थाअनुसार पर्यटकले निकुञ्ज प्रवेशका लागि आवश्यक विवरण भरेर अनलाइनबाटै शुल्क भुक्तानी गर्न सक्नेछन्। भुक्तानी प्रक्रिया पूरा भएपछि प्राप्त हुने क्यूआर कोड प्रवेशद्वारमा देखाएर निकुञ्जभित्र प्रवेश गर्न सकिनेछ। यसअघि टिकट लिन पर्यटक तथा पर्यटन व्यवसायीले नगद बोकेर प्रवेश पोष्टमै पुग्नुपर्ने बाध्यता थियो। नयाँ प्रणालीले टिकट काट्न लाग्ने समय घटाउनुका साथै भीडभाड कम गर्न र पर्यटकको विवरण व्यवस्थित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार सेवा प्रभावकारी भएमा अन्य प्रवेश नाकामा समेत विस्तार गरिनेछ। निकुञ्जका १२ प्रवेश नाकामध्ये सौराहाबाट ८० प्रतिशतभन्दा बढी पर्यटक प्रवेश गर्ने भएकाले पहिलो चरणमा यही क्षेत्रलाई प्राथमिकता दिइएको हो। चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैँडा, पाटेबाघ, घडियाल गोही तथा विभिन्न प्रजातिका चराचुरुङ्गी अवलोकनका लागि प्रसिद्ध छ। निकुञ्जको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा दुई लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका थिए। अनलाइन टिकट प्रणालीको सुरुवातले नेपालको वन्यजन्तु पर्यटनलाई थप सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।