दुई महिनामा १ लाख ३० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
असोज ६। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा १ लाख ३० हजार ४८३ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा ६० हजार ४२ जनाले स्वीकृति लिएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसपटक श्रम स्वीकृति लिनेको संख्या ४.११ प्रतिशतले घटेको देखिएको छ।
भदौमा श्रम स्वीकृति लिनेमध्ये ३५ हजार ६२७ जना पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् भने २४ हजार ४१५ जनाले बिदामा नेपाल आएपछि पुनः श्रम स्वीकृति लिएका छन्। सो महिनामा सबैभन्दा धेरै नेपालीको रोजाइ संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ, जहाँ १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसपछि कतारमा १० हजार ४७१, मलेसियामा ८ हजार ९१, साउदी अरबमा ६ हजार ७८७ र कुवेतमा ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन्।









