देवीघाटमा एक्रो ब्रिज जोडिँदै, पाँच दिनभित्र सञ्चालनको लक्ष्य
२१ भदौ । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी खोलामा नेपाली सेनाले एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ। भोटेकोशी बाढीका कारण पुलहरूमा क्षति पुगेपछि सडक सम्पर्क प्रभावित बनेको अवस्थामा देवीघाटमा अस्थायी पुल निर्माण थालिएको हो। नेपाली सेनाको ब्रिजिङ युनिटले ५५ जनाको टोली परिचालन गरी चौबीसै घण्टा काम गरिरहेको छ। करिब ५७.५ मिटर लामो र ५.५ मिटर चौडा पुल पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। पुल बनेपछि देवीघाट हुँदै विदुर तथा धादिङतर्फको यातायात सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ।









