अनलाइनबाट उद्योगी–व्यवसायीको अभिलेख संकलन र व्यवस्थापन गरिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा ब्यवसायीको अभिलेख अनलाइन माध्यमबाट राख्न सुरु गरेको छ ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाटै सदस्यता फारम भर्न सकिने प्रणाली जडानका लागि प्रारम्भमा ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुलाई समेटिएको छ ।
नयाँ सफ्टवेरमा तथ्यांक संकलन र व्यस्थापन भएपछि व्यवसायको प्रकृति र क्षेत्र, स्वामित्वको संरचना, अधिकृत र चालु पुँजी, कर्मचारी तथा कामदारको स्थायित्व एवं लैंगिक अनुपातलगायत तथ्यांक संवन्धित जिल्ला तथा नगर उद्योग वाणिज्य संघले राख्न सक्नेछन् । त्यसका साथै अनलाइनबाट नै सदस्य बन्न तथा नविकरण गर्न सकिने गरी मोबाइल एप पनि निर्माण गरी संचालनमा ल्याइएको अध्यक्ष राउतले जानकारी दिए ।
सफ्वेटवेर सञ्चालनको प्रारम्भिक अनुशिक्षण ३० वटा जिल्ला–नगर उद्योग वाणिज्य संघहरुलाई उपलब्ध गराइसकिएको र क्रमशः सञ्चालन र व्यस्थापनका लागि आवश्यक सहयोग महासंघबाट हुने गरी कार्य प्रारम्भ भएको पनि उनले बताए ।
जिल्ला–नगर उद्योग वाणिज्य संघमा जडान भएको सफ्टवेयरमा प्रशासनिक तथ्यांक, लेखा व्यवस्थापन र अन्य सूचना व्यवस्थापनको सुविधा हुनुको साथै उक्त सफ्टवेयर मोबाइल एप्लिकेशनबाट पनि चलाउन सकिने जनाइएको छ ।
सुक्ताश चेम्बर मेनेजमेन्ट सफ्टवेयर सुक्ताश इन्क प्रालिबाट लिइएकोे राउतले बताए । कोशी प्रदेशका ३९ वटा उद्योग वाणिज्य संघहरुमध्ये प्रारम्भमा ३० वटा संघमा सफ्टवेयर प्रयोगमा ल्याइने र बाँकी उद्योग वाणिज्य संघहरुमा क्रमिकरुपमा गर्दै जाने योजना महासंघको छ ।