हैजा संक्रमितको संख्या ३८ पुग्यो
काठमाडौँ, २०, साउन । गत असार ५ गतेदेखि फैलिएको हैजा संक्रमण साउन २० गनेसम्म आइपुग्दा ३८ जनामा देखिएको छ । काठमाडौं महनगरपालिका वडा नम्बर १९ ढल्कुमा बिहीबार थप एकजनामा पुष्टि भएसँगै हैजा संक्रमितको संख्या ३८ पुगेको हो ।
उपत्यकाका ११ पालिकासहित नुवाकोटको ककनीमासमेत हैजा संक्रमित देखिएका छन् । योसँगै यो वर्ष हैजा संक्रमितको संख्या ३८ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महनागरपालिकामा सबैभन्दा धेरै १५ जनामा हैजा संक्रमण पुष्टि भएको छ । काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिकामा ९, गोकर्णेश्वरमा दुई, चन्द्रागिरिमा दुई तथा नागार्जुन, बुढानिलकण्ठ र कीर्तिपुर नगरपालिकामा एक एक जनामा हैजा संक्रमण देखिएको हो ।
त्यस्तै, ललितपुर महानगरपालिकामा तीन र महालक्ष्मी नगरपालिकामा एक जनामा हैजा पुष्टि भएको छ । त्यसैगरी भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा एक एक जनामा हैजा देखिएको छ भने नुवाकोटको ककनी गाउँपालिकामा पनि एक जनामा हैजा संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांक छ ।
हालसम्म परीक्षण गरिएकामा धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जिवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।









