सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको छ : मन्त्री शर्मा
काठमाडौं । स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रशारण विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भइरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् । आज रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव समारोहमा उनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकिकरण गरि थप स्वतन्त्र र जनउत्तरदायी सार्वजनिक प्रशारण निर्माण गर्ने सरकारको नीति रहेको भन्दै यसको लागि सार्वजनिक सेवा प्रशारण विधेयक छलफलमा रहेको बताइन् ।
उनले भनिन्, ‘रेडियो नेपालले प्रादेशिक प्रशारणको समयावधि बढाउनको लागि पनि ध्यान दिन आवश्यक छ । आगामी दिनमा रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकिकृत गरि सार्वजनिक प्रशारण सेवा बनाउने सरकारको नीतिलाई व्यवहारमा उतार्न सार्वजनिक प्रशारणउन्मुख समाचार, कार्यक्रम, उत्पादन तथा प्रशारणका लागि तयारी गर्नुपर्ने आवश्यकता छ । सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभामा छलफल भईरहेको छ ।’
नेपाली समाजको रुपान्तरणका लागि महत्वपूर्ण संवैधानिक र कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसको लागि रेडियो नेपालसहित आम सञ्चार माध्यमहरुले अभियानको रुपमा कार्यक्रम उत्पादन र प्रशारणमा जोड दिनुपर्ने बताइन् ।