image
image
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेन

सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेन


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करी प्रकरणमा अनुसन्धान र कारबाही सिफारिस गर्न गठन भएको जाँचबुझ आयोगले पाँच महिनासम्म पनि काम सम्पन्न गरेको छैन । सरकारले १४ असोजमा आयोग गठन गरी तीन महिनाको कार्यावधि दिएको थियो ।

 दुई महिना म्याद थप गर्दा समेत आयोगले काम पूरा गरेको छैन । श्रोतका अनुसार सरकारले फेरि जाँचबुझ आयोगको कार्यावधि थप गर्ने तयारी भइरहेको छ । गत साउन २ गते विमानस्थलबाट बरामद भएको ६० किलोग्राम सुन र विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याएको नौ केजी सुन तस्करी प्रकरणपछि गठित जाँचबुझ आयोगलाई अदालतसरह अधिकार र सुविधा पाउने गरी जिम्मेवारी दिइएको छ । 

सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगमा नेपाल प्रहरोका पूर्वअतिरिक्त महानिरीक्षक सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजङ्ग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य छन् । 

आयोगको यसअघि तोकिएको कार्यावधि मंगलबार सकिँदैछ । मंगलबारपछि सरकारले आयोगको थप १५ दिन म्याद थप गर्ने तयारी छ । आवश्यक प्रमाणहरु पुनः परीक्षण गर्नुपर्ने आवश्यकताका कारण अन्तिम प्रतिवेदन तयारीमा ढिलाइ भएको आयोगका संयोजक डिल्लीराज आचार्यले बताए । उनका अनुसार आयोगले म्याद थपका लागि गृह मन्त्रालयमार्फत म्याद थपको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिसकेको छ । चार वटा समूहले फरक फरक विषयमा प्रतिवेदन लेखेर सकिएको र प्रमाणहरुको पुनःपरीक्षण भइरहेको आयोगले जनाएको छ । 

आयोगले सो प्रकरणमा पूर्वसभामुख तथा सत्तारुढ दल माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालगायत २८ जनासँग कागजी बयान र साढे ३३ केजी सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरे सहित ३२ जना प्रतिवादीसँग पुनः बयान लिएको छ । गत साउन २ गते राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको साढे ६० किलोग्राम सुन बरामद गरेको थियो । सो सुन ‘ब्रेक शू’ भित्र लुकाएर ल्याइएको अवस्थामा फेला परेको थियो ।

प्रारम्भमा यही सुन प्रकरणबारे विभाग र पछि सरकारको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो । सो प्रकरणमा राजनीतिकरण भएपछिसुन समातिएको तीन महिनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।