सेवा प्रवाहलाई बिचौलियामुक्त बनाउने बोर्डको प्रतिबद्धता
काठमाडौँ, २८, चैत्त । वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति भुक्तानीमा बिचोलियाका प्रभाव अन्त्य गर्न सचेत रहेको बताएको छ । प्रहरीले वैदेशिक रोजगारीको बीमा रकम ठगीमा बोर्डका दुई कर्मचारी पक्राउ गरेपछि बोर्डले आफ्नो सेवा प्रवाहलाई बिचौलयामुक्त गर्न उच्चतम सतर्कता अपनाउने बताएको छ ।
पक्राउ परेका बिचौलिया र कर्मचारीलाई जिल्ला प्रहरी परिसर टेकुले कारबाहीका लागि थप अनुसन्धान गरिरहेको छ । सोमबार बोर्ड सचिवालयले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोर्डका कार्यकारी निर्देशका डा. द्वारिका उप्रेतीले विदेशबाट शव आउने विषयलाई गोप्य राख्न नसकिने भन्दै बिचौलिया कसरी जोडिन्छन् भन्ने विषयमा अध्ययन भइरहेको बताए ।
उनीहरूले मृतकको शव आइसकेपछि मृतकका परिवारलाई काठमाडौंमा बीमाको रकम लिन बोलाउने र कोठामा थुनी आधाभन्दा बढी रकम ठगी गर्ने गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार गिरोहका सदस्यहरूले विदेशमा ज्यान गुमाएका व्यक्तिको शव आउने दिन विमानस्थलसम्म पुगी सान्त्वना दिँदै बीमाको रकम उपलब्ध गराइदिने आश्वासनसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ ।
बिचौलिया प्रवेशमा म्यानपावर कम्पनीसँग जोडिएका अनधिकृत एजेण्टहरुको भूमिका शंकास्पद पाइएको तथा बीमा कम्पनीहरूले सहजरूपमा बीमा रकम भुक्तानी नगर्ने र बीमा रकम भुक्तानी गर्दा भुक्तानी हुनेमध्ये ५ देखि ७ लाख रूपैयाँ आश्रित परिवारका सदस्यको बीमा गर्नुपर्ने दबाब दिने गरेकाले त्यस प्रकारको दबाबले बोल्न नसक्ने आश्रित परिवारलाई बिचौलिया प्रयोग गर्न बाध्यता रहेको बोर्ड अधिकारी तथा सञ्चारकर्मीहरूले बताए ।
जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगारमा जाने कामदारहरूको म्यादी बीमाबाट आठ महिनाको अवधिमा सवा २ अर्ब रुपैयाँ बढी असुल गरेका छन् । हाल सन नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ, आइएमई जनरल लाइफ, सानिमा लाइफ, सिटिजन लाइफ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले पनि वैदेशिक रोजगारमा जाने कामदारको म्यादी बीमा गर्दै आएका छन् ।
यसैबीच बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वास्थ्य समस्या सम्बोधनका लागि शुरु भएको टेलिमेडिसिन सेवा प्रभावकारी बनेको बताएको छ । बोर्डले वैदेशिक रोजगारीमा रहेका कामदारहरूको स्वास्थ समस्या विशेषज्ञ चिकित्सकबाट टेलिफोनमार्फत नै दिन गत चैत १५ गतेदेखि टेलिमेडिसिन सेवा शुरुवात गरेको थियो । बोर्डका अनुसार नेपाली कामदारहरुले १४ वटा देशबाट फोन गरेर स्वास्थ्य समस्या टिपाउने गरेका छन् । कार्यकारी निर्देशक डा. उप्रेतीले साउदी अरबबाट धेरै फोन आएको बताए । विदेशमा गैरकानूनीरूपमा बसीरहेकाहरूले फोन गरेर आफ्नो समस्या राख्ने गरेका छन् ।
बोर्डले विदेशमा रहेका कामदारहरूले बिदाको दिनबाहेक ह्वाट्स एप, भाइबर र इमो जोडिएका ९८५१३४५७०२ र ९८५१३४५७०१ नम्बरमा फोन गरेर स्वास्थ्य समस्या राख्न पाउने व्यवस्था मिलाएको छ । त्यसैगरी बोर्डकी निर्देशक रमा भट्टराईले बोर्डले सञ्चालन गरेको पुनःएकीकरण (रिइन्ट्रीगेशन) कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहहरूले बोर्डको अनुदानमा तालिमका कार्यक्रम शुरू गरेको जानकारी दिइन् ।









