image
image

व्यावसायिक कृषिमा युवाको आकर्षण, वार्षिक १० लाख आम्दानी

काठमाडौँ, १, फागुन । विद्यालय नजिक छ, दिउँसभरि पढाए पनि बिहान बेलुका खालीनै भइन्छ, खाली समयमा किन यतिकै बस्ने भनेर तरकारी खेती सुरु गरेको हुँ, सुरुमा सानो लगानीबाट सुरुआत गरेको अहिलेसम्म आउँदा सात लाख रुपैयाँ बढी लगानी गरेको छु,’ शिक्षक गोपीकृष्ण क्षेत्रीले भने ।

निसीखोला गाउँपालिका–४ झिम्पामा पुग्दा गाउँकै बीचमा दुई/तीन प्लास्टिक टनेल देखिन्छ । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, कलकलाउँदा सागसब्जी र टिपेर खाउँखाउँ लाग्ने फलफूल पनि । हरेक दिन बिहान र बेलुका यही भेटिन्छन्, उनी ।

यहाँ पुगेर देख्दा धेरैलाई लाग्न सक्छ, यो त अनुभवी कृषकको करेसाबारी हो तर, उनी आफूलाई कृषिबारे धेरै ज्ञान नभएको बताउँछन् । यद्यपि उनीको पौरख देख्दा अनुभवी कृषकको भन्दा कम देखिँदैन ।

क्षेत्री कृषकभन्दा बढी ‘मास्टर’ भनेर परिचित छन् । उनको मुख्य पेसा शिक्षण हो । विसं २०६८ देखि शिक्षण पेसामा आबद्ध भएका उनले व्यावसायिक कृषि पेसालाई पनि आत्मसात् गरिरहेका छन् ।

दिनभर विद्यालयमा शिक्षण गर्ने क्षेत्री बिहान–बेलुका आफ्नो कृषि फर्ममा खटेर काम गर्छन् । उनको त्यो खटाइ र कृषि उत्पादन देख्दा छरछिमेकी पनि दङ्ग पर्छन् । कृषि कर्ममा क्षेत्रीलाई परिवारको पनि राम्रो साथ सहयोग छ । यसले गर्दा अझ बढी उनी हौसिएका छन् ।

उनले शिक्षणसँगै कृषिलाई बढावा दिने हिसाबले २०७४ सालदेखि ‘झिम्पा फलफूल तथा तरकारी कृषि फर्म’ दर्ता गरेका छन् ।
आठ वर्षदेखि शिक्षण पेसालाई अँगाल्दै आए पनि तीन वर्ष अगाडि मात्रै प्रावि तहको स्थायी शिक्षक बनेका थिए ।

हाल उनी जनजीवराज सुशीला माध्यमिक विद्यालय झिम्पामा शिक्षण गरी रहेका छन् । विशेष गरी फलफूल र तरकारी उत्पादनलाई जोड दिएका क्षत्रीले आम्दानी पनि राम्रो हुँदै गएको बताए।

‘त्यसरी धेरै आम्दानी त गर्न सकिएको छैन, सुरु गरेको पनि धेरै भएको छैन, जे होस् लगानीअनुसारको आम्दानी हुन थालेको छ’, उनले भने, ‘लगानी बढाउँदै छु, आम्दानी पनि विस्तारै बढ्ने अपेक्षा छ ।’ क्षेत्रीको बारीमा अहिले रहर लाग्दा तरकारी र फलफूल देख्न सकिन्छ । उनीले हाइटेक टनेल निर्माण गरेर तरकारी र फलफूलाई फलाउन र उब्जाउन सुरु गरेका छन् ।

तरकारी र फलफूल बेचेर वार्षिक करिब तीनदेखि पाँच लाख रुपैयाँ आम्दानी गरेको उनीको भनाइ छ । बजारको समस्या नहुँदा मर्कामा नपरेको उनको भनाइ छ ।

उत्पादित तरकारी र फलफूल झिम्पा गाउँलगायत कानाबजार, झिवाखोला बजार, निसी, भल्कोट, बुर्तिबाङ लगायतका स्थानमा खपत हुने गरेको छ । उत्पादनलाई बिदाको समयमा बजार पुर्‍याउने गरेको सुनाउँछन् । ग्राहक बारीमै पनि तरकारी खरिद गर्न आउने क्षेत्रीले बताए ।

निसीखोला –५ कारीगाउँका धर्मराज पोखरेले करिब २४ वर्ष विदेशमा सङ्घर्ष गरे । विदेशमा हण्डर खाएपछि उनी एक दशकदेखि गाउँमै व्यावसायिक कृषिमा लागेका छन् ।

पोखरेलका घर वरपरका बारी विभिन्न जातका फलफूलले ढाकिएका छन् । पछिल्लो समय पोखरेलले अमिलो जातका फलफूल उत्पादनमा जोड दिएका छन् ।

उनले १५ रोपनी बारीमा कागती खती गरेका छन् । कागतीसँगै सुन्तला, हलुवाबेद, टिमुरलगायतका फलफूल उनका बारीमा छन्।

अघिल्लो वर्ष एक लाखको कागती बिक्री गर्नुभएका पोखरेलले यस वर्ष दुई लाख बढी आम्दानी गरेका छन् । उनले फलफूलसँगै कुखुरा, टिमुर र चुक (कागतीको पकाएको रस) समेत बिक्री गर्दै आएको बताए।

कागतीसँगै यस वर्ष सुन्तला पनि राम्रो उत्पादन भएको उनको भनाइ छ । फल दिने सुन्तलाका बोट कम भएको हुँदा एक लाखसम्मको बिक्री गर्नसक्ने पोखरेलको भनाइ छ ।

गत वर्षको तुलनामा यस वर्ष कागती, सुन्तलासँगै टिमुर पनि बढी उत्पादन भएको भन्दै ५० हजार रुपैयाँ बराबको टिमुर बिक्री गर्ने उनले बताए ।

कागतीले राम्रो उत्पादन दिन थालेपछि पोखरेलाई बजारको समस्या हुने देखिन्छ । पोखरेलले फलफूल, तरकारी तथा खाद्यान्न बेचेर वार्षिक करिब १० लाख रुपैयाँ बढी आम्दानी गर्ने बताए ।

लिलाबहादुर घर्तीले पनि वर्षौं विदेशमा सङ्घर्ष गरेर अहिले व्यावसायिक कृषि गरी रहेका छन् । घर्तीले निसीखोला–४ थापागाउँमा सात वर्ष पहिले सुरुको फलफूल खेतीले अहिले राम्रो उत्पादन दिन थालेको ।

कतार र भारतमा एक दशक बिताएका घर्तीले स्वदेशमै उद्यमी बन्ने योजना बनाएर फर्किएको बताउँछन् ।

‘अरुको देशमा धेरै दुःख सङ्घर्ष गरियो, त्यहाँ गर्ने मेहनत आफ्नै बारीमा, आफ्नै गाउँठाउँमा गरेपछि राम्रो कमाइ गर्न सकिन्छ भन्ने सोचले फर्किए, गाउँ आएर बाँझो जग्गामा फलफूल खेती सुरु गरे, अहिले विस्तारै प्रतिफल दिन थालेको छ’, घर्तीले भने । उनीले विदेशबाट फर्किएपछि सुरुमा परीक्षणका लागि १० वटा किवीको बिरुवा लगाएको भन्दै परीक्षण सफल भएपछि यसको खेती विस्तार गरेको बताउँछन् ।

उनीले अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी तथा टिमुर खेती विस्तार गरेका छन् । आगामी वर्ष थप ६५ रोपनी क्षेत्रफलमा किवी रोप्ने योजना बनाएको बताउँछन् ।

उनीको बारीमा अहिले किवीका सय बोट छन् भने सयौँ बोट टिमुर छन् । ती सबैले फल दिन थालेको उनको भनाइ छ । व्यावसायिक कृषिले आफूसँगै सन्ततिलाई पनि टेवा पुग्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।