गोरखाको धार्चेमा ठूलो सुक्खा पहिरो, बूढीगण्डकी नदीमा जोखिम बढ्न सक्ने आशंका
मंसिर २९। गोरखाको धार्चे गाउँपालिका–१ स्थित थाडोभिराङ क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ। पहिरोका कारण स्थानीय क्षेत्रमा धुलोको ठूलो मुस्लो फैलिएको थियो भने ढुङ्गा र माटो बूढीगण्डकी नदीसम्म पुगेको छ।
शनिबार बिहान करिब ८ः३० बजे बूढीगण्डकी नदीपारिको भीरमा पहिरो गएको हो। यारुबगरस्थित झोलुङ्गे पुल आसपास पनि पहिरो गएको बताइएको छ।
गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार पहिरो गएको क्षेत्रमा हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पहिरोबाट झरेको ढुङ्गा र माटोको केही भाग नदीमा पुगे पनि नदीको बहाव अवरुद्ध भएको छैन।
यसअघि उत्तरी गोरखाको चुमनुब्री क्षेत्रमा पनि पटकपटक सुक्खा पहिरो गएको थियो। गत असोज २५ गते पहिरोले बूढीगण्डकी नदीको बहाव रोकिएपछि अचानक आएको बाढीले ठूलो क्षति पुर्याएको थियो।
लगातार पहिरो जाने क्रमले बूढीगण्डकी नदी आसपासका बस्ती र पूर्वाधारमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।









