निस्कल राई भन्छन् – ‘ नेपालले भारतको जग्गा कहाँकहाँ मिचियो हिसाब चाहिन्छ’
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)सँग नेपालले भारतको जग्गा मिचिएको विषयमा हिसाब दिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताएका हुन् ।
‘आज मेरो शिर निहुरेको महसुस भएको छ । सदनको रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमनत्री ज्युले छाती चौडा बनाउँदै बोलेको विषयले मेरो मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुर्याएको छ,’ उनले भने, ‘रोस्ट्रममा उभिएर प्रधानमन्त्री ज्युले भन्नुभयो–नेपालले पनि भारतको जग्गा मिचेको छ । यो संसद्मा रेकर्ड भएको छ, त्यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ ।’
जसमा गर्वका साथ सत्ता पक्षका सांसदले ताली पड्काएको पनि उनले बताए । ‘उहाँहरूलाई पनि मेरो प्रश्न छ–अलिकती आत्मग्लानी यहाँहरूलाई पनि हुनुपर्छ । सार्वभौम संसद्मा उभिएर उहाँले दिएको अभिव्यक्तिको हाम्रो नोट अफ डिसेन्ट छ,’ उनले भने ।
अब संसद्को रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने राईले माग गरे । ‘हाम्रो माग पनि छ । फेरि उहाँ सार्वभौम सत्तासम्पन्न संसद्को रोस्ट्रममा उभिनुपर्छ, नेपालले कहाँकहाँ भारतको जग्गा मिच्यो, एकएक इन्चको हिसाब हामीलाई दिनुपर्छ । हामीलाई हिसाब चाहिन्छ, यो राष्ट्रिय स्वाभिमानको विषय हो, राष्ट्रिय सुरक्षाको विषय हो,’ उनले भने ।









