बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको पहिलो बजेट प्रस्तुत गर्दैछन्।बजेटको अन्तिम रात उनले मन्त्रालयमै बिताएका छन्।अर्थ मन्त्रालय स्रोतका अनुसार शुक्रबार बिहान ३ बजेपछि मात्रै उनी अर्थ मन्त्रालयबाट बाहिरिएका थिए। त्यस्तै, अर्थसचिव घनश्याम उपाध्याय पनि बिहान बाहिरिएका थिए।
बजेट तथा राजस्व व्यवस्थापन महाशाखाका उपसचिव, अधिकृत र अन्य कर्मचारीहरू भने ३र३ घन्टाको पालो लगाएर घर जाने–आउने गरेका छन्। अर्थमन्त्रीसँगको छलफलबाट करका दरहरू, कर्मचारीको तलब लगायतका मुख्य विषयहरू राति मात्रै टुंग्याइएको थियो।अहिले कर्मचारीहरू करका दरहरू अद्यावधिक गर्ने कार्यमा सक्रिय छन्।
बिहान केही समय आराम गर्न निवास गएका अर्थमन्त्री फर्किएपछि ९र१० बजेमात्रै बजेट भाषण प्रेसमा पठाइने बताइएको छ। अर्थमन्त्री वाग्लेले आफ्नो पहिलो बजेट दिउँसो ४ बजे संघीय संसद्का दुवै सदनमा पेस गर्नेछन्।
त्यसअघि उनले बजेटका हाइलाइटहरू मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्नेछन्। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको बजेट लिएर संसद् जानेछन्।बिहीबार मात्रै उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेट र सरकारका प्राथमिकताका विषयमा जानकारी गराएका थिए।









