जनयुद्धदेखि जनमतसम्म: सनोज महतको आँसु, उम्मेदवारी होइन, आत्मस्वीकृति: ललितपुर–१ मा सनोज महतको असाधारण राजनीतिक यात्रा !
काठमाडौँ —देशभर उम्मेदवारी दर्ता हुँदै गर्दा ललितपुरमा भने यसपटक भिन्न र भावनात्मक शैलीमा उम्मेदवारी दर्ता भएको छ। कहीँ आँसु बगे, कहीँ मन भक्कानियो। दलित दाइको आँगनमा क्षमा माग्नेदेखि जिउ नै सिरिङ हुने गरी आर्यघाटमा सङ्कल्प लिने दृश्यले ललितपुरको उम्मेदवारी प्रक्रियालाई विशेष बनायो।
पिपुल्स फर्स्ट पार्टीबाट ललितपुर क्षेत्र नम्बर १ मा ‘विजय’ चिन्ह लिएर उम्मेदवारी दर्ता गरेका सनोज महतले आफ्ना बुवा–आमाबाट आशीर्वाद लिएपछि विगतका संघर्ष सम्झँदै भावुक बने। उनले १७ वर्षको उमेरमा जनयुद्धमा लाग्दा पछुतो लागेको उल्लेख गर्दै त्यतिबेला प्रचण्ड र बाबुरामले धेरै युवालाई भ्रममा पारेको दाबी गरे।
त्यसपछि उनी स्वर्गीय विदुर नेपालीको निवास पुगेर जेठा छोरा दिलकुमार नेपालीसँग भेट गरे। समाज र परिवारले विगतमा जानेर–नजानेर गरेका विभेदका लागि उनले घुँडा टेकेर दिलकुमार नेपालीको आँगन ढोग्दै क्षमायाचना गरे।
उम्मेदवार महतले घर नजिकैका मनकामना, सरस्वती कुण्ड, टिकाभैरव मठ–मन्दिर दर्शन गरेपछि सबैलाई चकित पार्ने गरी आर्यघाट पुगे। त्यहाँ उनले “म मरेर जल्नु अघि यस समाज र जिल्लाका लागि केही सत्कर्म गर्न सकूँ” भन्दै सङ्कल्प लिएका थिए।
यसपछि उनी ढुङ्गा खानी र इँटाभट्टा पुगेर त्रसित व्यवसायीलाई ढाडस दिए। उद्योग बन्द नहुने र व्यवस्थित गर्नुपर्ने प्रतिबद्धता जनाउँदै कार्यरत मजदुरलाई “म तपाईंहरूसँगै छु” भनी भरोसा दिलाए।
यस सम्पूर्ण प्रक्रियामा सहभागी एक व्यक्तिले भने, “आज उम्मेदवारी होइन, आँसु दर्ता भयो।









