भरतपुरमा २१० किमी सडक स्मार्ट बत्तीले उज्यालो, ६ हजार बत्ती जडान
काठमाडौँ- भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान सम्पन्न गरेको छ। दुई चरणमा गरिएको कामअन्तर्गत मुख्य चोकहरूमा १६ हाइमास्ट र ७५ मिनमास्ट बत्ती स्थापना गरिएको महानगरले जनाएको छ।
महानगर प्रमुख रेनु दाहालका अनुसार नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा राजमार्ग र भित्री सडकसहित ६ हजार स्मार्ट बत्ती जडान गरिएको हो।
बत्तीहरू राजमार्ग, सहायक राजमार्ग, लिंक सडक, वडा सिमाना सडक तथा रणनीतिक रूपमा महत्त्वपूर्ण र चहलपहल बढी हुने स्थानहरूमा जडान गरिएको छ।
दुई चरणमा सम्पन्न यो परियोजनामा ३५ करोड रुपैयाँ लागत लागेको महानगरले जनाएको छ।
महानगर प्रमुख दाहालले स्मार्ट लाइटिङ अभियानले रातको समयमा आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षा अनुभूति बढाउने र भरतपुरलाई अधिक व्यवस्थित र आधुनिक सहरका रूपमा अघि बढाउने उद्देश्य रहेको बताइन्।









