तीनकुने प्रदर्शन घटनाः पक्राउ परेका राजावादी नेता–कार्यकर्ताहरुलाई आज म्याद थप गरिंदै
काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ ।
हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आरटीएफ)का कमाण्डर लगायत रहेका छन् ।
राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् । १५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।









