निर्माण व्यवसायी उत्रे आन्दोलनमा, २८ मध्ये २२ अर्ब निकास भइसक्यो : अर्थमन्त्री पौडेल
काठमाडौं। सरकारले समयमा नै भुक्तानी नगरे पछि निर्माण व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् । भोली अर्थात माघ ३ गतेदेखि चरणवद्ध रूपमा सरकारविरुद्ध आन्दोलनमा जाने घोषणा निर्माण व्यावसायीले गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार माघ ३ गतेदेखि ७ गतेसम्म १४ बुँदे मागसहित प्रधानमन्त्री र विकास निर्माण सम्बन्धि मन्त्रीहरूलाई ज्ञापनपत्र दिने काम सुरू गरिनेछ ।
र, माघ १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम तय भएको महासचिव रोशन दाहालले जानकारी दिए ।
यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने गरी अर्को चरणको आन्दोलन घोषणा गरिने उनीहरूले चेतावनी दिएका छन् ।
निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि सरकारबाट भुक्तानी नभएको, राष्ट्र बैङ्कले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको उनीहरूको दावी रहेको छ ।
तर, उपप्रधान तथा अर्थ मन्त्री बिष्णु पौडेलले भने सरकारको दायित्व अन्तर्गत निर्माण व्यवसायीहरुलाई कुल २८ अर्ब ८९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएकोमा २२ अर्ब भुक्तानी भइसकेको जनाएका छन । उनका अनुसार अब करिव ६ अर्ब भुक्तानी हुन बाँकी रहेको र त्यसमा पनि प्रकृयामा रहेकालाई प्राथमिकतामा राखेर भुक्तानी गरिने जानकारी यसअघि दिएका थिए । सोही बिच, निर्माण ब्यावसायीले आन्दोलनको घोषणा गरेका हुन् ।









