वैदेशिक राेजगारबाट दिगो खुशी र समृद्धि मिल्दैन : मन्त्री कुँवर
काठमाडौँ, १२, पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन् । सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
मन्त्रालयको आफ्नो कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री कुँवरले नेपालमा सबैभन्दा चुनौतीको विषय स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरा रहेको बताए । उनले अहिले देश वैदेशिक रोजगार र रेमिट्यान्समा रमाएको भए पनि यसबाट दिगो खुशी र समृद्धि नमिल्ने बताए । उनले स्वदेशमा नै रोजगारी सिर्जना गर्ने कुरालाई कर्मचारीतन्त्रले दूरदृष्टि राखेर काम गर्न आवश्यक रहेको बताए ।
मन्त्री कुँवरले पुनः एकीकरणको कार्यक्रमबाट पनि रोजगारी सिर्जना गर्न सकिने र सामाजिक सुरक्षा कोषको दायरालाई बढाउँदा पनि नेपालमा रोजगारीको मात्रा सिर्जना हुने बताए । उनले नेपालमा रोजगारी सिर्जना भएका ठाउँमा नेपाली श्रमिकहरू नहुनु दुःखद् भएको बताए । उनले नयाँ सरकार गठनको प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या दिनप्रतिदिन बढिरहेकाले उनीहरूको समस्या समाधान गर्न हिच्किचाहट नगर्न आग्रह गरे । उनले आफू मन्त्रालयबाट बिदा भएको भए पनि सिंहदरबार र संसदबाट टाढा नरहने बताए । उनले मन्त्री क्वार्टर पनि आफूले छोडिसकेको जानकारी गराए ।









