श्रम मन्त्रालय अन्तर्गत ३२ करोड रुपैयाँ बेरुजु
काठमाडौँ, २, कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षसम्म ३२ करोड रुपैयाँ बेरुजु देखिएको छ । पटक–पटकको प्रयासपछि पनि बेरुजु फर्छ्यौट नभएपछि मन्त्रालयले बेरुजु फर्छ्यौट कार्ययोजना बनाई कर्मचारीलाई पुरस्कारको समेत व्यवस्था गरेर पेश्की रकम फर्छ्यौट गराउन शुरू गरेको छ ।
३२ करोड बेरुजुमध्ये मन्त्रालय र मन्त्रालयका केन्द्रीय कार्यक्रम अन्तर्गत २४ करोड २१ लाख ८१ हजार, वैदेशिक रोजगार विभागमा २५ लाख ९ हजार, वैदेशिक रोजगार कार्यालय ताहाचलमा १५ लाख १९ हजार, वैदेशिक रोजगार बोर्डमा ६ करोड १५ लाख ९५ हजार र वैदेशिक रोजगार न्यायाधिकरणमा ६२ हजार बेरुजु रहेको मन्त्रालयले जनाएको छ ।
ईपीएस कोरिया शाखा ग्वार्काेसहित ८ वटा श्रम तथा रोजगार कार्यालयको बेरुजु भने शुन्य रहेकोे छ । बेरुजुलाई आर्थिक अनुशासन पालनाको ऐनका रुपमा हेर्ने गरिएको छ । बेरुजु आफैंमा भ्रष्टाचार नभए पनि भ्रष्टाचारको शुरुवात बेरुजुबाट हुने मान्यता छ ।
मन्त्रालयले पटक–पटक ताकेता गर्दासमेत असुल नभएपछि कुमारी चोक तथा केन्द्रीय तहशील कार्यालयलाई असुल उपर गर्न पठाउने कार्यविधिमार्फत व्यवस्था गरेको छ । श्रम मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पनि ठूलो रकम खर्च गर्ने गरेकोे छ । तर त्यसबाट दीर्घकालीन प्रकृतिको रोजगारी सिर्जना हुन सकेको छैन । मन्त्रालयले बेरुजुप्रति शुन्य सहनशीलताको नीति अख्तियार गर्ने समेत बताएको छ ।









