साउदी राजदूत बोलाएर छलफल गर्ने मन्त्री कुँवरको प्रतिवद्धता
काठमाडौँ, ३०, साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले रोजगारीका लागि साउदी अरेबिया जाने नेपाली कामदारको भिसा प्रक्रियामा उत्पन्न समस्याबारे साउदी राजदूतलाई बोलाएर छलफल गर्ने आश्वासन दिएका छन् ।
प्रगतिशील वैदेशिक रोजगार व्यावसायी मञ्च नेपालले आइतबार मन्त्री कुँवरलाई भेटी केही समयदेखि नेपालस्थित साउदी अरबको दूतावासले नेपाली कामदारको भिसा जारी गर्न अनेकौँ समस्या सिर्जना गरेकोे तर व्यवसायीहरूका तर्फबाट बारम्बार अनुरोध गर्दा पनि दूतावासले समस्याको समाधानका लागि कुनै पहल नगरेको व्यवसायीको गुनासो सुनाएको थियो ।
मञ्चका अध्यक्ष राजेन्द्र भण्डारीले दूतावासले भिसा समस्याको समाधान नगरे व्यवसायीले औपचारिक रूपमा नै साउदी अरबमा कामदार नपठाउने घोषणा गर्ने अवस्था उत्पन्न भएको जानकारी गराएपछि मन्त्री कुँवर आफुले त्यस विषयमा परराष्ट्र मन्त्रीसँग पनि छलफल गर्ने र राजदूतलाई मन्त्रालयमा बोलाएर समस्या समाधानका लागि छलफल गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए ।
अध्यक्ष भण्डारीले नेपालस्थित साउदी दूतावासले साउदी सरकारको आन्तरिक मन्त्रालयको निर्देशनको हवाला दिएर व्यवसायीलाई अनावश्यक कागजात मागगर्ने, बिना कारण दुःख दिने र बिना गल्ती कारबाही गर्नेगरेको विषयमा मन्त्री कुँवरको ध्यानाकर्षण गराइएको जानकारी दिए ।
यसका अतिरिक्त मञ्चका तर्फबाट वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा पटक–पटक विज्ञापनको सूचना राख्दा समस्या उत्पन्न भएको, साउदी अरबस्थित नेपाली दूतावासबाट मागपत्र प्रामाणिकरणमा रहेका समस्या र मलेसियास्थित नेपाली दूतावासमा भएको मागपत्र प्रमाणिकरण ढिलाइ भएको विषयको पनि तत्काल समाधान हुनुपर्ने माग गरिएको अध्यक्ष भण्डारीले बताए ।
समस्या समाधान नभए वा ढिलासुस्ती यथावत् रहेमा कोरोनापछि शुरू भएको वैदेशिक रोजगारीको गति रोकिने र नेपालले प्राप्त गरिरहेको डिमाण्ड र रेमिट्यान्समा गतिरोध उत्पन्न भई राष्ट्रिय अर्थतन्त्रमा नै नोक्सानी गर्ने भएकोले समस्या समाधानका लागि कुनैपनि प्रकारको बिलम्ब गर्न नहुनेमा जोड दिइएको समेत भण्डारीले बताए ।
अध्यक्ष भण्डारीको नेतृत्वमा गएको व्यवसायी टोलीमा पूर्व अध्यक्ष टंक बहादुर राउत, महासचिव जनक रावल, उपाध्यक्ष सरिता घले, सचिवद्वय राजेन्द्र अधिकारी र धनुस सिन्जाली, कार्यसमिति सदस्यहरू डिएम सुब्बा, आङछिरिङ शेर्पा, दीपक आचार्य, सरिता राई, खेम गौतमलगायतको सहभागीता रहेको थियो ।
मध्यान्ह दैनिकले गत साउन २६ गते प्रथम पृष्ठमा 'साउदी दूतावासको कार्यशैलीबाट व्यवसायीहरु पीडित’ र 'परराष्ट्रले नै हस्तक्षेप गर्नुपर्ने माग’ शिर्षकमा यस सम्बन्धी समाचार प्रकाशित गरेको थियो ।









