image

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

काठमाडौँ  २ असोज  । पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले विसं २०३८ देखि उपभोग गर्दै आएका छन् ।


दुई सय ५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो । स्थानीयस्तरमा उत्पादन भएको यो विद्युत् आयोजनाको गृह कक्ष तत्कालिन माओवादी विद्रोहीले भत्काइदिएपछि लामो सयम भोजपुर अन्धकारमयसमेत बनेको थियो । यहाँ यो बाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन ।

मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुप काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइन विस्तारको पहल थलिएको हो । त्यो अवधिमा छिटफुटरुपमा पेल्टीसेट, ससाना विद्युत् आयोजना सञ्चालनमा थिए । ग्रामीण भेगका अधिकांश स्थानीयले भने सोलार सेट, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था थियो । भोजपुरको विद्युत्को इतिहास बोकेको सो विद्युत् गृह भने हाल बन्द छ ।

हिले-भोजपुर ३३ केभी राष्ट्रिय प्रसारणलाइन विसं २०६७ कात्तिक १९ देखि भोजपुरमा जोडिएको हो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलव ३३ प्रतिशत जनता मात्र लाभान्वित छन् । हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ । काममा ढिलाइ हुँदा विद्युत् प्रावधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट देखिएका छन् ।

केन्द्रीय प्रसारण लाइन यहाँका प्रायः सबै स्थानीय तहमा पुर्‍याउने कोसिस भइरहेको छ । पूणर्रुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन । सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन् । बाँकीले स्थानीयस्तरमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेको गाउँपालिकाले जनाएको छ । ती स्थानमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको गाउँपालिकाको भनाइ छ ।

यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ । दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ । यी दुई स्थानीय तहमा पनि पूणर्रुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ । यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ । भोजपुर नगरपालिकाका सबै वडामा विद्युत् पुगेको भए पनि केही केही वडाका घरपरिवारमा विद्युत् पुग्न केही समय लाग्ने भोजपुर नगरपालिका उपप्रमुख ममिता राईले जानकारी दिनुभयो ।

पौवादुङमा गाउँपालिकाको केही वडामा केन्द्रीय प्रसारणलाइन सञ्चालनमा रहेको भए पनि पूणर्रुपमा विस्तार भएको छैन । यो गाउँपालिकाका सबै क्षेत्रमा केन्द्रीय लाइन विस्तारका लागि बोलपत्र आह्वान भएर काम थालनी भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र तीन हजारभन्दा बढी घरपरिवारको बसोबास छ । गाउँपालिकाले सबै क्षेत्रमा विद्युत् विस्तारका लागि ठूलो बजेट लाग्ने भएपछि दुर्गम क्षेत्रका स्थानीयवासीलाई लक्षित गरेर सौर्यबत्तीलगायत सामग्री वितरण गर्दै आएको छ । अहिले गाउँपालिका केन्द्र च्याङ्गे्रको केही भाग, वडा नं २ तिवारी भञ्याङको करिब ७० प्रतिशत, वडा नं १ श्यामशीला र वडा नं ५ सानोदुम्माको केही भागमा मात्र विद्युत् विस्तार भएको छ ।

उपप्रमुख राईले भन्नुभयो, “पटकपटक काठमाडौँमा पुगेर विद्युत् विस्तारका लागि बोलपत्र आह्वान गरेर कामको थालनी गर्न त सफल छौँ । ठेकेदारले केही वडामा पोल ल्याएर खसालेको छ, तर पछिल्लो समयमा आएर काममा प्राधिकरणका कारण बाधा पुगेको अवस्था छ । प्राधिकरणले सामान दिन आनाकानी गरेपछि ठेकेदारले काम अगाडि बढाउन सकेको छैन । म आफैँ प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर यस विषयमा जानकारी गराउँदा समेत कामअघि बढ्न सकेको छैन । यसतर्फ प्राधिकरणको ध्यान जान आवश्यक छ ।”

गाउँपालिकामा विद्युत् विस्तारका लागि रु चार करोड ४० लाखको बोलपत्र आह्वान गरेर कामको थालनी गरेको विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ । त्यो रकममध्ये जनशक्ति व्यवस्थापन तथा अन्य प्राविधिक कामका लागि रु ९९ लाख ५३ हजार ६३३ खर्च हुने कार्यालयको भनाइ छ ।

हतुवागढी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तार भए पनि लक्ष्यअनुसारको काम हुन नसकेको गाउँपालिकाको भनाइ छ । हालसम्ममा केन्द्रीय लाइन गाउँपालिका केन्द्र र आसपासका क्षेत्रमा वितरण भएको छ । केन्द्रीय लाइनले दुई वटा वडाका करिब ५०/५० प्रतिशत जनताले उपभोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राई जानकारी दिनुभयो । षडानन्द नगरपालिकाका करिब केन्द्रीय र स्थानीय गरी ७० प्रतिशत जनता विद्युत्को पहुँचमा रहेको उपप्रमुख मेरिका राईले जानकारी दिनुभयो । यहाँ १४ वटा रहेका छन् । सबै वडामा भने पूणर्रुपमा विद्युतीकरणका लागि काम भइरहेको नगपालिकाले जनाएको छ ।

साल्पासिलिछो गाउँपालिकामा पनि केन्द्रीय प्रसारणलाइन विस्तारको थालनी भएको छ । अन्य स्थानीयको तुलनामा यहाँ काम ढिला सुरु भएको हो । वडा न १ र २ कुलुङसम्म केन्द्रीय लाइन विस्तार भएर परीक्षण भइरहेको गाउँपालिकाल अध्यक्ष महेश राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्य स्थानीय तहमा पनि केन्द्रीय प्रसारणलाइन विस्तार सुरु भएको छ । अन्य स्थानीय तहको तुलनामा यहाँ काम पछि सुरु भएको हो । असोजसम्ममा गाउँपालिका केन्द्र चौकी डाँडासम्म विस्तार गर्ने हाम्रो लक्ष्य छ ।”

केही समयअघिबाट मात्र केन्द्रीय लाइन विस्तार भएकाले यहाँका स्थानीय स्थानीयस्तरमा उत्पादन भएको विद्युत्लाई प्रयोग गर्दै आएका छन् । यहाँ आठ वटाको हारहारीमा पेल्टी सेट जडान गरेर विद्युत् निकालिएको अध्यक्ष राईले जानकारी दिनुभयो । अध्यक्ष राईका अनुसार यहाँका करिब ५० प्रतिशत जनता विद्युत्को पहँुचमा रहेका छन् । त्यस्तै दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिकामा सबैभन्दा कम चार प्रतिशत मात्र जनता विद्युत्को पहँुचमा रहेका छन् । यहाँ केन्द्रीय विद्युत् विस्तारका लागि चार वर्षअघिबाट कामको थालनी गरिएको भए पनि प्रगति नभएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईले भन्नुभयो, “चार वर्षअघिबाट हाम्रो क्षेत्रमा विद्युत् विस्तारको काम सुरु भएको छ । पहिलो पटक गरिएको बोलपत्रबाट हतुवागढीको घोडेटारबाट खम्बा र तार टाङ्ने काम भयो । त्यसपछि पुनः दोस्रो पटक पुनःकरिब अढाइ करोडको टेन्डर आह्वान भयो । त्यसले पनि काम सके भनेर गयो । फेरि अन्तिममा पौने तीन करोड जतिको टेन्डर आह्वान भएको भन्ने सुनेको छु । काम भएको छैन् । नौ वटा स्थानीय तहमध्ये केन्द्रीय लाइन विस्तार नभएको स्थानीय तह हाम्रो मात्र हो ।” अरुण गाउँपालिकामा पनि केही ठाउँमा विद्युत् विस्तार भए पनि पूणर्रुपमा विद्युत् सेवा पुग्न सकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।