image
image

रोकिएन कुखुराको तस्करी

काठमाडौँ, २८, भदौ । भारतबाट अवैध रुपमा कुखुरा र माछाको तस्करी हुँदा बाँकेका व्यवसायी मारमा परेका छन् । नेपाल–भारत सीमाको मुख्य नाका जमुनाह हुँदै भारतबाट खुलारुपमा कुखुरा, अण्डा र माछा तस्करी हुँदै आएको छ । 

नेपाली बजारका तुलनामा भारतमा कुखुरा, अण्डा र माछाको मूल्य कम भएकाले नाफा कमाउन तस्करी हुँदै आएको कुखुरा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष लालबहादुर खत्रीले बताए। व्यापारीले चोरीको बाटो प्रयोग गर्दै तस्करी गर्ने गरेका छन् । नेपालगञ्ज, खजुरा तथा कोहलपुरमा भारतबाट तस्करी गरी ल्याइएको कुखुरा र माछा बिक्रीवितरण भइरहेको छ ।   

जानकी गाउँपालिका–१, साइगाउँ र खजुरा गाउँपालिका–१, राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा, चल्ला र माछा तस्करी हुनेगरेको पाइएको छ । यसरी तस्करी गरिएको कुुखुरा र माछालाई नेपाली उत्पादन भन्दै बिक्री भइरहेको खजुरा –२, सीतापुरका कुखुरा व्यवसायी लक्ष्मीबहादुर थापाले बताए ।

ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिक रुपमा ठूलो मात्रामा भारतीय कुखुरा र माछा नेपाल ल्याउन नरोकिएपछि आफ्नो व्यवसाय धरापमा परेको  उनको भनाइ छ । बाँके र बर्दियाका विभिन्न नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका छन् । 

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने जोखिम भएका कारण सरकारले भारतीय कुखुरा, अण्डा र चल्ला आयातमा प्रतिबन्ध लगाएको छ ।

नेपालगञ्जस्थित पशु क्वारेन्टाइन कार्यालयका सूचना अधिकारी इन्दु रेग्मीले भारतीय माछा मासु तथा पक्षीजन्य वस्तु आयात रोक्न आफूहरु क्रियाशील रहेको बताइन । सम्भावित चोरी निकासी हुने ग्रामीण क्षेत्रमा समेत पुगेर सुरक्षाकर्मीका सहयोगमा दैनिकजसो गस्ती गर्ने गरेको उनको जिकीर छ । 

पशु क्वारेन्टाइनले आर्थिक वर्ष २०७८/७९ साउनदेखि हालसम्म अवैध रुपमा ल्याइएको २२२ किलो तयारी माछा, तीन हजार माछाका भुरा, २७० ब्रोइलर कुखुरा, आठ हजार ७९१ कुखुराका चल्ला र कुखुराको मासु १५० किलो नष्ट गरिएको रेग्मीले बताइन । भारतीय ब्रोइलर कुखुरा, चल्ला, मासु र माछा भित्र्याउनेलाई कारवाही गर्ने क्रममा कार्यालयले चालु आवको हालसम्ममा रु पाँच लाख ६१ हजार राजस्व सङ्कलन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।