image
image

काभ्रेपलाञ्चोकमा दश दिन मिश्रित लकडाउन गर्ने निर्णय

काठमाडौँ २५ भदौ  ।  जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले दश दिनका लागि मिश्रित लकडाउन थप्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा बिरामी भर्ना दर बढेकाले लकडाउनको समय थप गरिएको हो ।  यसअघि दश दिन थप गरिएको मिश्रित लकडाउन आज राती १२ बजेसम्म रहेकामा जोखिम मूल्याङ्कन बमोजिम जिल्ला पहेँलो जोनमा परेको कारण आजदेखि आगामी असोज ५ गते राती १२ बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । उक्त आदेशअनुसार तोकिएको समयसम्म सबै प्रकारका भेला, जुलुस, सभा, सम्मेलन, सिनेमा हल, रेष्टुरेन्ट, क्लब, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लर र जिमखाना सञ्चालन गर्न नपाइने भएको छ ।  



यस्तै हाट, मेला, जात्रा, महोत्सव पाटी र भोज जस्ता भीडभाड हुने कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । तोकिएका तरकारी बजार बाहेक अन्य सार्वजनिकस्थल र बाटोमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न नपाइने प्रशासनले जनाएको छ । प्रशासनले गोष्ठी, सेमिनार, समीक्षा जस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट सञ्चालन गर्न र भौतिक रुपमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने भएमा अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै बढीमा २५ जना मात्र उपस्थित हुने गरी गर्न प्रशासनले आग्रह गरेको छ ।


प्रशासनले शैक्षिक सङ्घ÷संस्था सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा स्थानीय पालिकाको निर्णय अनुसार विद्यालय व्यवस्थापन समिति र अभिभावक सङ्घ समेतको समन्वय र सहकार्यमा निर्धारित स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरी विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ । सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्दा कूल सिट क्षमताभन्दा बढी सङ्ख्यामा यात्रु नराख्ने र चालक, सहचालक तथा यात्रुले निर्धारित स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने जनाएको छ ।


सो समयावधिमा विकास निर्माणका ढुवानी गर्ने सवारीसाधन जिल्लाभित्र खपत हुने सामग्रीको हकमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने जनाएको छ । जिल्लाभित्रका सम्पूर्ण पसल बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै खोल्न पाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।